बैंकका कर्मचारी पक्राउबारे निजी क्षेत्रको ध्यानाकर्षण

डिसी नेपाल
१८ फागुन २०८० १८:०९
100
Shares

काठमाडौं। कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन्।

धितो मूल्यांकनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद हो भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्।

धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत मङ्गलबार प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो। पछिल्लो घटनाले समग्र बैंकिङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको निजी क्षेत्रको भनाइ छ।

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको विज्ञप्तिमा जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले विद्यमान ऐन तथा केन्द्रीय बैंकबाट जारी भएका निर्देशनहरुको अधीनमा रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गरिरहेको निजी क्षेत्रले जनाइएको छ। व्यावसायिक कर्जाको हकमा व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पूँजी तथा चालू पूँजीतर्फ भिन्न–भिन्न प्रकारका कर्जा प्रवाह हुने गरेको निजी क्षेत्रका छाता संस्थाहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *