भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैनः गृहमन्त्री श्रेष्ठ

डिसी नेपाल
२० फागुन २०८० १८:५६

रुपन्देही। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन्।

आज शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए।

उनले आन्तरिक सुशासन कायम नगरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने स्पष्ट पारे। सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र मानी अगाडि बढेको उनको भनाइ थियो। समृद्धिका लागि सुशासन पहिलो सर्त भएकोसमेत उनले जनाए।

विसं २०७९ चैत्र ६ गतेको निर्णयअनुसार इलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो। त्यसको करिब नौ महिनापछि २०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवं कार्यालय व्यवस्थापन गर्ने गरी गृहमन्त्रीस्तरको निकाय भएपछि मात्र इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

इलाका प्रशासन कार्यालय मानपकडीबाट शुद्धोधन गाउँपालिकाको सात वटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरी २२ वटा वडाका लागि सेवा प्रवाह हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

उनले यो केन्द्रबाट करिब एक लाख २९ हजार जनाले सेवा लिने गरी कार्यालयको स्थापना गरिएको बताए। यससहित रुपन्देहीमा इलाका प्रशासनको संख्या तीन पुगेको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका र कोटहीमाई गाउँपालिकामा यसअघिदेखि नै इलाका प्रशासन कार्यालय छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *