दोस्रो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा हुने

डिसी नेपाल
२० फागुन २०८० १९:२४

काठमाडौं। दोस्रो कर्णाली चलचित्र कार्यशाला  यही २३ फागुनबाट २९ फागुनसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।

कार्यशालाको तयारी तीव्र गतिमा भइरहेको आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग उनले कार्यशालाबारे जानकारी गराए। उनका अनुसार कर्णालीमा दोस्रोपटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ,’ अध्यक्ष खड्काले भने ।

यसअघि २०७९ असारको दोस्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताए ।

कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै, चलचित्र लेखक तथा निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष कक्षा लिने भएका छन् ।

चलचित्र लेखक तथा निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिनेछिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *