तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि

डिसी नेपाल
२३ असोज २०८३ १६:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दासम्बन्धी कानुनी प्रक्रियाका क्रममा शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन्।

विभिन्न जिल्लाका सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन रहेका छन्। यसअघि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा रुपन्देही, पोखरा र चितवन जिल्ला अदालतले ती कसुरहरू फिर्ता लिइसकेका छन्। यससँगै अब लामिछानेमाथि सहकारी ठगीको कसुरमा मात्र अदालतमा मुद्दा विचाराधीन रहेको छ।

जिबी राई सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको रकम अवैध रूपमा प्रवाह र अपचलन भएको आरोपमा लामिछानेविरुद्ध ठगी मुद्दा दायर गरिएको थियो।

अदालतले उनलाई सुलभ तरिकाले कानुनी प्रक्रिया पुरा गर्न सघाउ पुर्‍याउने उद्देश्यले काठमाडौंमै रहेका विभिन्न अदालतका तारेख बुझ्न पाउने सुविधा प्रदान गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *