२१ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक सार्वजनिक
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट अवैध सुनसहित नियन्त्रणमा लिइएका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका आरोपीहरूलाई सार्वजनिक गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरीले बूढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालमा रहेको एक घरमा छापा मारेको थियो। घर भाडामा लिई अवैध रूपमा सुन प्रशोधन तथा कारोबार गरिरहेको अवस्थामा चिनियाँ नागरिकहरू ह्याङ फेई, झौ लोङ क्विन र वाङ जियाङ जिआङ नियन्त्रणमा परेका हुन्। बरामद गरिएको सुनको अनुमानित बजार मूल्य ५४ करोड ६० लाख ७ हजार रुपैयाँ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरी अनुसन्धानअनुसार चिनियाँ नागरिक सु क्यानले साउन ८, २०८३ देखि लागू हुने गरी चार महिनाको लागि मासिक ३ लाख ३० हजार रुपैयाँका दरले कुल १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेर सो घर भाडामा लिएका थिए। त्यसपछि सु क्यानले चीनमा रहेका मुख्य नाइके जेन जिया ललाई साँचो सुम्पेका थिए। जेन जिया ल ले असोज १० गते हाल पक्राउ परेका ह्याङ फेई र झौ लोङ क्विनलाई साँचो दिएर नेपाल पठाएको खुलेको छ।
यस अवैध सञ्जालका मुख्य नाइके चीनको ग्वान्झाउमा रहेका जेन जिया ल रहेको र उनकै निर्देशनमा वीच्याटमार्फत सम्पूर्ण अवैध कारोबार तथा ओसारपसार सञ्चालन हुने गरेको प्रहरीको भनाइ छ। यस प्रकरणमा हालसम्म कुनै पनि नेपाली नागरिकको संलग्नता नदेखिएको भए तापनि दोभासेमार्फत सोधपुछ गर्दा पक्राउ परेका चिनियाँ नागरिकहरूले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment