महिलामैत्री नीति र कानून सुनिश्चित गर्न आवश्यक छ : डा राणा

डिसी नेपाल
२५ फागुन २०८० १४:३३

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा आरजु राणाले महिलाहरुले अझै पनि कार्यस्थलमा विभिन्न प्रकारका विभेद भोग्न बाध्य भएको भन्दै समाधानका लागि आपसी सहकार्य जरुरी रहेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले महिलाहरुले अझै पनि समान अवसर नपाएको बताइन्।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकी डा राणाले ती चुनौतीहरुलाई पन्छ्याउन सबैले हातेमाले गर्नुपर्नेमा जोड दिइन्।

“विश्वभर आज पनि महिलामाथि कुनै नकुनै प्रकारका विभेद कायमै छन्। शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरमा महिलाहरुको पुहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न सकेको छैन”, उनले भनेकी छन्, “विकसित मुलुकहरुको तुलनामा नेपाली नारीहरुले आधारभुत आवश्यकतामै विभेद र शोषण भोग्दै आएका छन् । उनीहरुलाई न्याय र समानता दिलाउने उद्देश्य हामी सम्पूर्ण नारीहरुको मात्रै नभई नारी र पुरुष दुवैको हो।”

महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत केही व्यवस्था गरिएको उनको भनाइ छ। “नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन्। हामी महिलाहरु परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं। महिलाहरु समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ। यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ”, उनले भनिन्।

नयाँ युगको हाँकलाई आत्मसाथ गर्न डिजिटल प्रविधिको पहुँच र प्रयोगमा महिलाहरुको समान सहभागिता हुन जरुरी रहेको भन्दै उनले यसले महिला वर्गलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत पुग्ने विचार व्यक्त गरिन्।

“महिलाहरुको डिजिटल उपकरण र सीपहरूमा पहुँच हुन अत्यावश्यक छ। किनकी यसले महिलाहरुलाई आर्थिक अवसरमा सहभागी गराउँदै उनीहरूको स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार गरेर समाजमा सक्षम हुन सहयोग पुर्‍याउँछ”, उनले भनिन्।

प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले व्यक्तिगत रुपमा महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।

“आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि-साक्षरता बढाउँदै सुचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्‍याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु। महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन । यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ”, उनले भनेकी छन्।

उनले यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडनलाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न थप उर्जा र उत्साह प्राप्त हुनेमा विश्वास व्यक्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *