चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ: सभामुख घिमिरे
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।
सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना दिएका थिए।
“नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन्”, शुभकामना सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् ।” सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताएका छन्।
“मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई प्रेरित गर्न आवश्यक छ”, सन्देशमा भनिएको छ, “ल्होसारजस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।
।”
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्सेजस्ता खानेकुरा खाएर तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment