ट्रकमा लागेको आगो सल्केर कर्णाली पुलमा क्षतिः तत्काललाई सवारी आवागमन बन्द

डिसी नेपाल
२९ फागुन २०८० ६:४२

कैलाली। कर्णाली पुलमा लाइटर लोड गरी विरगञ्जबाट कञ्चनपुरतर्फ गइरहेको ट्रकमा आगलागी हुँदा त्यसैको आगो सल्केर उक्त पुलमा पनि क्षति पुगेको छ।

क्षतिको यकिन गरी सुरक्षाको दृष्टिकोणले ठिक छ कि छैन भन्ने पत्ता नलाग्दासम्म उक्त पुलबाट केही दिनका लागि आवागमन बन्द गरिएको छ।

वैकल्पिक मार्गबाट सवारी आवागमनको लागि कैलालीको लम्कीदेखि दक्षिणी टिकापुर-सत्तिपुल हुँदै बर्दियाको राजापुरबाट गुलरिया भएर पूर्व-पश्चिम राजमार्गमा निस्कन सकिने वा हुलाकी राजमार्ग प्रयोग गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर नीरज शाक्यले जानकारी दिए।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको पुलमा गुडिरहेको ट्रकमा लागेको आगो दुईघण्टासम्म नियन्त्रण बाहिर रहेको थियो। वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार अपरान्ह एक्कासी आगलागी भएको थियो।

लाइटर बोकेको उक्त ट्रकमा आगलागी हुँदा ट्रक पूर्णरूपमा जलेको छ भने कर्णाली पुलका केही लठ्ठामा समेत क्षति पुगेको छ। जसका कारण पुल नै जोखिममा परेको छ । ट्रकमा रहेका चालक र सहचालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

कैलाली र बर्दियाका विभिन्न पालिकाहरूबाट ढिलै भएपनि पुगेका दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएपनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको थिएन । त्यसपछि बालुवा हालेर आगो निभाउने प्रयास गरिएको थियो । ट्रकमा रु. १ करोड १० लाख भन्दा बढी मूल्य बराबरका लाइटर रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *