विवाहमा पोते किन ? 

अमेरिकाबाट नेपाली राशिफल

संसारमा मनुष्यले प्रजनन, आवास र भोजनका लागि निरन्तर संघर्ष गरिराखेका हुन्छन्। मानवजीवनको गतिलाई अगाडि बढाउन भोजन र आवासपछि प्रजननको महत्वपूर्ण भूमिका हुन्छ।

प्रजननको प्रक्रियालाई अगाडि बढाउने सांस्कृतिक, धार्मिक, सामाजिक, मूल्य मान्यताको निरन्तताको लागि विवाह आवश्यक पर्दछ। वैदिक दर्शनमा विवाह आठ प्रकारका हुन्छन्। ती आठ प्रकारका विवाहअन्तर्गत आर्षपरम्पराअन्तर्गत गरिने विवाहलाई वैदिक विवाह भनिन्छ।

वरले वधूको घरमा गएर कन्या मागेर, जन्मपत्रिका मिलान गरी गरिने विवाहलाई वैदिक विवाह भनिन्छ। अग्निलाई साक्षी राखी कूल, कुटुम्ब, गुरु, पुरोहितको सहभागितामा वैदिक मंगलोच्चारणका साथ गरिने विवाह नै वैदिक विवाह हो।

विवाहमा पोते या मंगलसूत्रको महत्वपूर्ण स्थान हुन्छ। स्त्री जातिको शरीरमा बहने हर्माेनका कारण उनीहरू स्वाभाले नै दयालु, कृपालु र आटिला हुन्छन्। शारीरिक बनावट पनि पुरुषको तुलनामा कोमल, सहृदयी सरल स्वाभावका हुन्छन्। शारीरिक श्रम सहज रूपले गर्दछन्।

सम्पूर्ण परिवारको जिम्मेवारी वहन गर्ने हुन्छन्। विवाहको समय मंगल मन्त्रका साथ वरले वधूलाई पोते र सिन्दूर लगाइदिने विधान छ।  त्यसपछि लगनगाँठो बाँधेर सूर्य, अग्नि, इन्द्र, यम, वरुण, आकाशका देवता, पातालका देवता, पृथ्वीका देवता, नागआदिलाई साक्षी राखेर विवाहको मंगल कार्य गरिन्छ।

पोते   (मंगलसूत्र) सानो इकाईमा २७, ३६, ५४ या १०८ लुङ्गको पोते वैदिक मन्त्रोच्चारणका साथ लागइदिने विधान गरिएको छ। माथि उल्लिखित लुङ्गहरूको पूर्ण संख्या २७ मा २ जोड ७ = ९, ३ जोड ६ = ९, ५ जोड ४ = ९ आदि हुन्छ।

हे सखी! तिमीलाई मैले पत्नी रूपमा स्वीकार गरेँ । तिमी आधा म आधा थियौं। हामी दुई विवाह बन्धनद्वारा बाँधिएर आज पूर्ण भएका छौं। जसरी भगवान् शिव अर्धनारीश्वर हुनुहुन्छ त्यसैगरी तिमीले र मैले पनि पूर्णता प्राप्त गरेका छौं।

तिम्रो र मेरो अधिकार बराबर, कर्तव्य बराबर र सामाजिक दायित्व पनि बराबर भएको छ। यसरी सम्पूर्ण कार्यमा समभावको सम्बन्ध स्थापित गर्न र घरायसी तनावलाई घटाउन पनि पोते जो चिसो पनि हुन्छ, त्यो धारण गर्नु पर्दछ।

विवाहको वैज्ञानिकता के हो ?

कुमारी कन्या जब विवाह गरेर वरको घरमा जान्छिन् जिम्मेवारीहरू प्रशस्तै बढ्छन्। कुमारीत्व पनि भंग हुने हुँदा उनमा शरीरिक तथा मानसिक केही पीडा र ताप उत्पन्न हुन्छ। ताप शान्तिका लागि घाँटीमा पोते लगाउनुपर्दछ। जसले शीतलता प्रदान गर्दछ।

शास्त्रीय मान्यताअनुसार मंगल कार्य भएकाले मंगलकारक सूत्रको रूपमा पोते लगाइदिनुपर्दछ। आधुनिक विज्ञानका अनुसार छाती, घाँटी, र गर्दनलाई सदासर्वदा शीतलता प्रदान गर्न र इक्यूप्रेशर प्वाइन्टहरूलाई सक्रिय बनाउन पोते लगाउनुपर्दछ।

सुख, सौभाग्य र सुस्वास्थ्यका लागि पोतेको विधान गरिएको छ। रातो पोतेले आरोग्यता, पहेँलो पोतेले आध्यात्मिक शान्ति, हरियो पोतेले समृद्धि प्रदान गर्दछ। विशेष गरेर शास्त्रमा रातो पोतेको प्रशस्त महत्व देखिन्छ। रातो पोते धारण गर्नाले सुख, सौभाग्य र परिवारमा शान्ति र समृद्धि प्राप्त हुन्छ। अतः विवाहमा पोते अनिवार्य रहेको छ।

विवाह के हो ?

प्रजनन, भोजन र आवास मानवका मूलभूत आवश्यकता हुन्। जीवनलाई सही रूपले गति दिनका निम्ति प्रजननको आवश्यकता पर्दछ। भोजन र आवास पनि महत्वपूर्ण आवश्यकता अन्तर्गत पर्दछन्।

प्रजनन र जीवविकासका लागि विवाह एउटा पवित्र बन्धन हो। जसले प्रजननलाई सहयोग पु¥याउँदछ। विवाह कति प्रकारका हुन्छन् त? भन्ने सन्दर्भमा शास्त्रमा आठ प्रकारका हुने उल्लेख गरिएको छ

ब्रह्म विवाह- वेदज्ञ, सुशील, स्वस्थ वरलाई घरमा बोलाएर कन्यालाई विभिन्न आभूषणले सुसज्जित गरी कन्या वरको हातमा दिने विवाहलाई ब्रह्मविवाह भनिन्छ।

दैव विवाह– यज्ञकर्ता वैदिक विद्वान्लाई यज्ञयागादिपछि अन्तिममा कन्यालाई सौभाग्यादिले अलङ्कृत गरेर कन्या दान गर्ने विवाहलाई दैवविवाह भनिन्छ।

 आर्ष विवाह– वैदिक विद्वान्द्वारा केही उपहार लिएर कन्यादान दिने विवाह नै आर्ष विवाह हो।

 प्राजापत्य विवाह – वरबधूलाई एकआपसमा भेट गराई मन पराएपछि गरिने विवाह प्राजापत्य विवाह हो।

आसुरी विवाह- वरपक्षसग केही धन लिएर कन्या दिने विवाह आसुरी विवाह हो।

 गान्धर्व विवाह– लामो समयको प्रेमप्रसंग पछि गरिने विवाह गान्धर्व विवाह हो।

 राक्षस विवाह– कन्याको स्वीकृतिविना अपहरणपूर्वक गरिने विवाह राक्षस विवाह हो।

पैशाच विवाह– कन्याको शीलभंगपूर्वक बलात् गरिने विवाह पैशाच विवाह हो।

यी आठविवाहअन्तर्गत पनि उत्तम, मध्यम र अधम विवाहको वर्णन गरिएको छ। ब्रह्म, दैव, आर्ष र प्राजापत्यलाई उत्तम विवाहको श्रेणीमा राखिएको छ। जसमा कुनै प्रकारको लेनदेन, लोभलालच हुँदैन।

यिनलाई आदर्श विवाहको रूपमा वर्णन गरिएको छ। मध्यम विवाह आसुरी र गान्धर्वलाई लिइएको छ। धनद्वारा कन्याको क्रयविक्रय र लोभलालचद्वारा गरिने भएकाले यसलाई मध्यम विवाह मानिएको हो।

राक्षस र पैशाच विवाह यो अपहरण र बलपूर्वक गरिने हुनाले यिनलाई अधम विवाहअन्तर्गत राखिन्छ। अधम विवाहको वर्णनका बारेमा वेदमा त्यति चर्चा पाइँदैन। अधिकांश शुरुका चार विवाहलाई मात्र महत्व दिइएको छ।

आमाबाबु र कन्याको स्वीकृति, कूल, कुटुम्बसहित भएर गरिने, यज्ञयागादि र अग्निलाई साक्षी राखी गरिने विवाह शुरुका चार उत्तम विवाह हुन्। पुरुरवा र उर्वशीको विवाहलाई गन्धर्व विवाह भनिन्छ । रूप र सौन्दर्यका आधारमा भएको विवाह गन्धर्व विवाह हो।

सूर्या र अश्विनीकुमारका साथ भएको विवाह आदर्श विवाह हो। ऋग्वेदको वर्णनअनुसार ऋ.१०.८४ र अथर्ववेद १४.१.२ यजुर्वेद १८.१५ यी सूक्तहरूमा विवाहका बारेमा प्रशस्त चर्चा गरिएको पाइन्छ।

विवाहको साइत किन ?

शुभ समयमा शुभ कार्य गर्‍यो भने शुभफल प्राप्त हुन्छ। त्यसैअन्तर्गत जीवनमा सुख, शान्ति र समृद्धिका लागि कुनै पनि कार्य गर्दा साइत अनिवार्य रूपमा हेराउनुपर्दछ। आकाशमा घुम्ने सूर्य, चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनिआदि ग्रह र २७ नक्षत्र, योग र करणको शुभ संयोगले शुभ साइत निर्माण हुन्छ। त्यही शुभसाइतमा गरेका सम्पूर्ण कार्यहरू शुभ र फलदायक हुन्छन्।

वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन यी ६ वटा महिनामा मात्र विवाहको विधान पूर्वीय ज्योतिष शास्त्रले गरेको छ। ६ वटा महिनाभित्र नै विवाह गर्ने शुभ मुहुर्तहरू किन राखिएको छ त भन्ने जिज्ञासा  स्वाभाविकै हो। सूर्य मेष (१) राशिमा हुँदा पञ्चम (५) भावमा सूर्यको प्रभाव, सुन्दर सन्तान र सप्तम (७) भाव शुक्रको प्रभाव, शुक्रग्रहको प्रभावमा पत्नीको सुख, जेठ (२) महिनामा सन्तानको भावमा बुध (६) र श्रीमतीको घरमा बृहस्पतिको प्रभाव, असारमा (३) मा सन्तानको भावमा शुक्रको प्रभाव, विवाहको भावमा बृहस्पतिको प्रभाव र सुन्दरता, मंसिर(८)मा सन्तानको भावमा बृहस्पतिको प्रभाव, माघ (१०) मा सन्तानको भावमा शुक्रको प्रभाव, विवाहको भावमा चन्द्रमाको प्रभाव, फाल्गुन (११) मा सन्तानको भावमा बुधको प्रभाव र विवाहको भावमा सूर्यको प्रभाव पर्दछ । यसप्रकार विवाह एकअर्काका पूरक हुन्।

असल वैवाहिक जीवन, असल सन्तान, असल दाम्पत्य जीवनको कामना गर्दै परिवारमा सुख, शान्ति, आनन्द, सौभाग्य, पारिवारिक आत्मीयता, आर्थिक समृद्धि, शुभग्रहको प्रभावले मात्र प्राप्त गर्न सकिन्छ। विवाहउत्सवका लागि शुभ साइत चाहिन्छ।

उत्तम सन्तान, उत्तम कुल, सुन्दर गृहस्थ जीवनको लागि पवित्र विवाहउत्सवको साइत गरिएको पाइन्छ। सूर्यले सुख, चन्द्रमाले उच्च पदवी, मंगल ग्रहले शुभमंगल, बुधले सद्बुद्धि, गुरुले गुरुत्व, विद्या र शिक्षा, शुक्रले सुखआदि प्राप्तिका लागि विवाहको साइत विशेष गरेर माथि देखाइएको वैशाखआदि ६ महिनामा मात्र गर्नुपर्दछ।

मार्च १६ देखि ३१ सम्मको राशिफल

मेष राशि: चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कार्यमा सफलता मिल्ने छ । मनोरञ्जनात्मक वस्तुको व्यापार लाभदायक रहनेछ।  वाणिज्य व्यापारमा प्रगति हुनेछ।  खानपानको अनियमितताले रक्त जनित रोगले सताउने देखिन्छ। मनमा द्विविधा वढ्ने छ। आफन्तहरुबीचको सम्बन्धमा सुधार आउने देखिन्छ। अध्ययन अध्यापन प्रगति हुनेछ। वाणिज्य व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

वृष राशि  : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

व्यापार व्यवसायमा सामान्य रहनेछ। प्रवास यात्राको योग छ। नवीन कार्यको थालनी हुनेछ। साहित्य संगीत तथा कला क्षेत्रमा रुचि बढ्ने देखिन्छ। मनमा प्रसत्रता छाउनेछ। मान्यजनबाट यथेष्ट सहयोग प्राप्त हुनेछ। आमा बुबाको स्वास्थ्यमा खर्चमा वृद्धि हुनेछ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। मुददामामिलामा विजय प्राप्त हुनेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

अध्ययन अध्यापनमा सुधार आउनेछ। सहयोगी कार्यको संलग्नताले इष्टमित्र बढ्नेछन्। आय आर्जनमा सुधार होला। व्यापारमा वृद्धि हुनेछ। मनमा प्रशन्नता छाउनेछ। साहित्य कला तथा संगीतमा मन लाग्नेछ। धार्मिक कार्यमा सहभागी भइएला। पानीजन्य स्वास्थ्यमा समस्या देखापर्न सक्छ। विश्वास गरेकाहरुले धोका देलान्।

कर्कट राशि  : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

धार्मिक तथा सामाजिक कार्यमा तत्परता बढ्नेछ। समाजमा मान प्रतिष्ठा बढ्ने छ। पति पत्नी तथा सन्तानबीचको सम्बन्धमा सुधार आउनेछ। रमाइलो यात्रा हुने देखिन्छ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। शारीरिक आलस्यताले स्वास्थ्यमा समस्या देखिन सक्छ। प्रतिस्पर्धी परास्त हुनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

पराक्रम बढ्नेछ। शारीरिक परिश्रम धेरै गर्नु पर्ने  छ।  धनार्जन सन्तोषजनक  नै रहला। वैदेशिक यात्रामा लाभ हुने छ। सन्धि सम्झौता गर्दा सचेत रहनु होला। राष्ट्रसेवकहरको मनोबल बढ्ने छ। पदोत्रतिको योग रहेको छ। छाती सम्बन्धी रोगले सताउला। दाम्पत्य जीवनमा मधूरता आउने छ। सन्तान प्राप्तिको योग  छ।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

व्यापार व्यवसायमा उतारचढावको सामना गर्नु पर्ला। पति पत्नी बीचको सम्बन्धमा टकराव देखापर्ने छ। सन्तानको सहयोग पाइने छैन। भूमि वाहन तथा अचल सम्पत्तिको कारोवार बढ्नेछ। जागिरमा पदोन्नतिकोे हुने छ। पठन पाठनमा मन लाग्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा प्रसन्नता छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

शरीरावयवमा चोट पटक लाग्न सक्ने देखिन्छ। चल सम्पत्ति खर्च हुनेछ। व्यापार व्यवसायमा अवरोध आउला। जागिरमा लाभ मिल्नेछ। पद प्रतिष्ठा मान सम्मान बढ्नेछ। साथीभाइहरुले धोका दिन सक्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। आफन्तसँगको सम्बन्ध अपेक्षानुकूल रहनेछ। वैदेशिक यात्राको योग छ।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

आय आर्जनमा सुधार आउनेछ। वैदेशिक व्यापारमा वृद्धि हुनेछ। दूधजन्य पदार्थको व्यापारमा अवरोध आउनेछ। छरछिमेक तथा दाजुभाइसँगको सम्बन्धमा सुधार आउने देखिन्छ। शत्रुहरु अचल सम्पत्तिमा किचलो गर्न तत्पर होलान्। शिक्षा दिक्षा तथा नैतिक कार्यमा सफलता मिल्ला। राजनीतिमा पतनको अवस्था देखिन्छ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

व्यापार व्यवसायमा सफलता मिल्नेछ। न्यायिक क्षेत्रमा सफलता मिल्ने छ। राजनैतिक क्षेत्रमा अपमानको सामना गर्नु पर्ला। नयाँ घर घडेरी जोडिएलान्। विदेश यात्रा कष्टकर होला। स्वास्थ्यमा समस्या देखिनेछ। मानसिक समस्याले सताउला। साझेदारी कार्यमा  टकराव आउने देखिन्छ। शत्रुहरु बढ्नेछन्।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

अनावश्यक खर्च बढ्ने छ। मनमा चञ्चलता देखा पर्नेछ। पठनपाठन तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। वन्धुवान्धवको सहयोगले विशिष्ट कार्यको थालनी हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।  आय आर्जनमा अवरोध आउनेछ। मातापितासँगको सम्बन्ध सुमधुर रहने छ। जग्गा जमीनको कारोवारमा प्रशस्त धनार्जन हुनेछ।

कुम्भ राशि  : गु,गे,गो,सा,सी,सु,से,सो,द

अध्ययन अध्यापनमा अवरोध आउनेछ। खर्चमा वृद्धि हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। निर्माण सामाग्रीको व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। साझेदारी व्यवसायमा आन्तरिक मन मुुटाव बढ्ने देखिन्छ। शत्रुहरु प्रसस्त बढे पनि जित आफ्नै हुनेछ। जागिर तथा नोकरीमा सामान्य समस्या देखा पर्ला।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

आफन्तको मांगलिक कार्य हुने हुँदा खर्च बढ्ने देखिन्छ। पारिवारिक सम्बन्धमा सुखमय रहनेछ। आन्तरिक व्यापार व्यवसायमा सुधारका संकेत देखापर्नेछन्। वैदेशिक वाणिज्य व्यापारिक कार्यमा भने रोकावट आउने छ। पठन पाठनमा मन लाग्ने छ। सन्तान प्राप्तिको योग देखिन्छ। शारीरिक स्फूर्ति बढ्नेछ। प्रेम प्रसंग चल्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *