युक्रेनले सार्वजनिक गरेका नेपाली युद्धबन्दीको बयान- ‘टिकटक भिडियो हेरेर रुस पुगेँ’

डिसी नेपाल
३ चैत २०८० २०:१०

काठमाडाैं (बीबीसी नेपाली)। युक्रेनले नेपाल सहितका देशहरूलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै आफ्नो नियन्त्रणमा रहेका पाँच जना नेपाली नागरिकलाई सार्वजनिक गरेको छ।

युक्रेनले नेपालीहरू सहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकहरू शुक्रवार सार्वजनिक गरेको समाचार संस्था रोएटर्सले जनाएको छ। युक्रेन मिडिया सेन्टरमा सार्वजनिक गरिएका नेपालीहरूलाई त्यहाँ बोल्न पनि लगाइएको थियो। नेपाली युद्धबन्दीलाई सार्वजनिक गर्दै युक्रेनले व्यक्त गरेको पछिल्लो धारणाका बारेमा नेपालको परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।

मन्त्रालयले गत पुस ४ गते बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो। युक्रेनले सार्वजनिक गरेका अर्का एक नेपालीको पहिचान खुलेको छैन।

उनीहरूलाई सैन्य पोसाकमै सार्वजनिक गरिएको थियो। युक्रेनले सार्वजनिक गरिएका अन्य युद्धबन्दीहरू क्युवा, सेमालिया र सेरेआलियोनका नागरिकहरू रहेको जनाएको छ।

युक्रेनी अधिकारीले के भने?

रुस युक्रेन युद्धमा मस्कोको सेनामा सहभागी भएर थप सात जना नेपालीको ज्यान गएको विवरण सार्वजनिक भएको भोलिपल्टै किएभले रुसले भर्ना गरेका विदेशी भाडाका सैनिक र नेपालसहितका देशका युद्धबन्दीहरूका बारेमा टिप्पणी गरेको हो।

मस्कोले विदेशी नागरिकलाई सेनामा भर्ना गर्न सकिने कानुन अघिल्लो वर्ष ल्याएको थियो। तर सार्वजनिक रूपमा उसले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषय ‘आफ्नो जानकारीमा नरहेको’ प्रतिक्रिया दिने गरेको पाइन्छ।

यस्तोमा युक्रेनले आफ्नो नियन्त्रणमा रहेका नेपालसहित चार देशका युद्धबन्दीहरू सार्वजनिक गरेर भाडाका सैनिकहरू आफूमाथिको युद्धमा मस्कोले प्रयोग गरिरहेको र त्यसको आफूले सामना गर्न आफूले कडा कदम चाल्नुपर्ने सन्देश प्रवाह गर्न खोजेको जस्तो देखिन्छ।

‘कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्,’ युक्रेनी सरकारका युद्धबन्दी हेर्ने अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।

युक्रेनी अधिकारीले रुसले न्यून आय भएका देशहरूका नागरीहरूलाई रुसले युद्धको अग्रमोर्चामा खटाएको बताए।

‘टिकटक भिडियो हेरेर रुस पुगेँ’

मोरङको लेटाङका विकास राई युक्रेनी अधिकारीहरूले आयोजना गरेको कार्यक्रममा बोलेका थिए। उनले टिकटकमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडियो देखेर आफू रुस पुगेको बताएका छन्।

‘टिकटकमा उनीहरूको भिडियो देखेर मैले उनीहरूलाई भर्ती हुने प्रक्रियाबारे सोधेँ। उनीहरूले युद्धको अग्रमोर्चामा जानु नपर्ने राम्रो कुरा सुनाए,’ उनले भनेका छन्।

रुस पुगेपछि सबै प्रक्रिया हुन्छ भनेपछि आफू पर्यटक भिसामा रुस पुगेको र सेनामा भर्ती भएको उनले बताएका छन्। ‘मानिसहरू युद्धमा जान चाहँदैनन् तर नेपालमा अवस्था निकै अप्ठ्यारो छ,’ उनले भनेका छन्।

‘म सबै नेपालीहरूलाई रुसी सेनामा भर्ती नहुन अनुरोध गर्छु। त्यहाँ तपाईँहरूको सपना पुरा हुनेवाला छैन,’ राईले भनेका छन्।

पत्रकारहरूको उपस्थितिमा सार्वजनिक गरिएका अर्का नेपाली बन्दी बर्दियाका विवेक खत्रीले आफू रुसमा एक वर्ष देखि रहेको र आफ्ना साथीहरू रुसी सेनामा भर्ती भएपछि राम्रो हुने सुनेर आफू पनि भर्ती भएको बताएका छन्।

नेपालले के पहल गर्दैछ

नेपालले युक्रेनले बन्दी बनाएका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने पहलका लागि अन्तर्राष्ट्रिय रेडक्रस लगायतका संस्थाहरूसँग अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।

नेपालले किएभसँग अनौपचारिक कुरा गरे पनि ठोस उपलब्धि हासिल हुन नसकेको अधिकारीहरूले यसअघि बताएका थिए। नेपालले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिक फिर्ता ल्याउन मस्कोसँग पनि कुरा गरिरहेको यसअघि बताएको थियो।

‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ,’ गत बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको थियो।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालले छिटो भन्दा छिटो क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई भनेको उल्लेख गर्दै त्यसमा मस्को सकारात्मक रहेको बताएका थिए। पछिल्लो आँकडासँगै रुसी सेनामा कार्यरत रहेका कम्तीमा १९ नेपालीको ज्यान गएको छ।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन सङ्ख्या पहिचान हुन सकेको छैन। परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहेको भन्दै उद्धार गरिदिन अनुरोध गरिएका २४५ वटा निवेदनहरू आफूसँग आएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले सरकारी कामकाज, छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नु परेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएर मात्रै यात्रा गर्ने प्रावधान लागु गरिएको जनाएको छ।

गत साता भारतले पनि आफ्ना नागरिकहरूलाई झुक्क्याएर रुसी सेनामा भर्ती गरिएको थाहा भएको जनाएको थियो। युक्रेनले बन्दी बनाएका एक जनाले आफूले धेरै देशका नागरिकहरू रुसी सेनामा देखेको शुक्रवार सार्वजनिक गरिएको भिडियोमा बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *