विश्व भूमण्डलीकरणको नेपालमा राजनीति र आर्थिक प्रभाव

शंकरप्रसाद रिजाल
१२ चैत २०८० ११:३१

विश्व भूमण्डलीकरणको परिप्रेक्ष, यसको प्रभाव, मोडमा नेपालको भूराजनीति र अर्थ व्यवस्था बेला बेलामा उथल पुथल भइरहनु स्वभाविक हो।

आज नेपालमा नेपाली कांग्रेस यति कमजोर भएर जानु र साम्ववादी दलहरु निरन्तर हावी भइरहनु तथा नयाँ र उदयमान पार्टी पनि यही साम्यवादी पार्टीको सरकारमा सहभागी हुन जानु त्यो पार्टीभित्रको गतिशिलताको प्रभावको रुपमा बुझ्नुपर्छ। जसमा बिदेशी कुनै शक्तिको प्रभाव रहेको बुझ्न सकिन्छ।

ठूला देश चीन, भारत र पश्चिमा मुलुकको भूमण्डलीकरणको प्रभावमा कसले नेपालको राजनीति र अर्थनीतिमा बाजी मारी धाक र आधीपत्य जमाइ क-कसलाई आफ्नो पकडमा राख्न सकिन्छ र नेपालको राजनीति र अर्थतन्त्रलाई आफ्नो मुट्ठी भित्र राख्न सकिन्छ भन्ने नै एक मात्र धेय रहेको देखिन्छ। यसमा नेपालका सबैजसो पार्टी अछुत छैनन्।

यसैको प्रभाव र दबाबले राजनीति र आर्थिक जगतमा बेला बेलामा खेलो मेलो र उतार चढाव भइरहने हो। यही खेलो मेलोको दौडमा नेपालमा १-१ वर्षमा सरकार परिबर्तन भइरहनु यसैको दुस्परिणाम हो।

एक त संविधानमा कोरिएको समानुपातिकको परिमाण अनुसार कसैको पनि चुनावमा बहुमत आउन नसक्नु र अर्को पार्टीहरुको सिद्धान्तविहीन बिचारले राजनीति गरी रही देशलाई सधैं एकै ठाउँमा राखी आफू मानोमानी राज्यसंचालन गरिरहने परिपाटीले गर्दापनि यस्तो परिवर्तन भइरहेको पाइन्छ।

कमजोर नेतृत्व, कमजोर राजनीति र अर्थनीति भएकाले पनि बिदेसीको दवाब, हस्तक्षेप र आफ्नो अनुकुल प्रलोभनमा पारी नेतृत्वलाई फकाउने र आफ्नो पोल्टामा
ल्याउने काम बिदेसीले गर्नु स्वभाविक नै हो।

यस्तोमा नेतृत्वले आफ्नो बिबेक पुर्‍याइ आफ्नो राष्ट्रिय स्वार्थमा मात्र लागि देशको हर क्षेत्रको बिकासको खाका कोर्न नित्तान्त आवश्यक देखिन्छ। विश्वमा भूमण्डलीकरण र भूराजनीतिक चक्रव्यूहको सुरुवात बिशेष गरेर सोभियत संघको पतनपछि अमेरिकाले फैलाएको साम्राज्यबादको बिस्तारबाट नै थालनी भएको देखिन्छ।

अमेरिकाले दर्जनौ देशमा गरेको हमला, साथ र सहयोगले अन्य देश चीन, भारत र रसियालाई फेरि ब्युँताएको छ। उसको राजनीतिक रणनीतिले अरुलाई सोच्न बाध्य बनाएको छ।

इराकमा हमला गर्नु, अफगानीस्तानमा हमला गर्नु, सिरियामा हमला गर्नु, युक्रेनमा हमला गर्नु र हालसालै इजराइल र हमासबीचको युद्धमा सरिकहुनुले अन्य ठूला देशपनि जुरुक्क उठी त्यसको सामना गर्नु नौलो कुरा होइन।

यसले विश्व भूमण्डलीकरणको भूराजनीति र अर्थनीतिमा गपहरो प्रभाव पर्दै गइरहेको छ। आज विश्वका ठूला र शक्तिशाली राष्ट्रको राजनीति र अर्थनीतिमा आएको उतार चढाबले तेश्रो मुलुकका देशलाई निक्कै आक्रान्त र भयभित गराइरहेको छ भने अत्यन्त गरिबीको रेखा मुनि बसेका विश्वको चौथो दर्जाका मानिसको त कुरै नगरौं। युद्धमा मरिरहेका र भोकमरीबाट मरिरहेका मानिसले आज संसार भयावह देखिरहेका छन्।

विश्वमा यी कारणहरुबाट उब्जेको राजनैतिक धुर्वीकरण र आर्थिक कसिकसाउले नेपालको हर क्षेत्रमा नकारात्मक प्रभाब पर्न गइरहेकोले नेपालले आज हर क्षेत्रमा गहिरो चिन्तन र मनन् गर्नु पर्ने बेला आएको छ। छिमेकी चीन, भारत र पश्चिमाली मुलुकको नेपालमा बाक्लो उपस्थिति र उनीहरुले बिछ्याएका थिए जालहरुबाट नेपाल सधैं कुचक्रमा फसिरहेको छ।

“किम कर्तब्य बिमुढ” को संघारमा उभिएको नेपालमा बेला बेलामा राजनैतिक र आर्थिक उथल पुथल हुनु र साथ साथै आजका नेताको भाँडभैलोले गर्दा देश कुनै कुरामा पनि उँभो लाग्न सकेको छैन।

राजनीतिक ध्रुवीकरणको चपेटा त छँदै। देश बाहिरको भूमण्डलीकरण र भूराजनीतिको भुमरीमा परिरहनु, देशमा उद्योग कल कारखाना बन्द हुनु र भएका पनि रुग्ण स्थितिमा रहनु र बेरोजगारको मारले लाखौँ युवाहरु बिदेसिनु र देशमा बिदेसी मुद्राको ब्यापक अपचलनले देश अत्यन्त ठूलो खाडलमा परीरहेकोले यो परिप्रेक्षमा देशले आफ्नो सुरक्षा र बिकासको खातीर अथक परिश्रम गर्नु परेको देखिन्छ।

यो सबै संसारको भूमण्डलीकरण र भूराजनीतिक दुष्चक्रको परिणाम हो। नेपालमा त अहिलेसम्म घटना घटी हालेको छैन। खाली आन्तरिक चाँजोपाँजो मिलाउने र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार र ब्यापकता ल्याई देशलाई नौलो रुपमा प्रस्तुत गर्नमात्र बाँकी रहेको देखिन्छ।

विश्वमा आएको राजनैतिक ध्रुवीकरण र आर्थिक मन्दीलाई ध्यानमा राखी नेपालले अनगिन्ति कार्यहरु गर्नु परेको छ। यो विश्वव्यापीकरण बास्तवमा भन्ने हो भने विश्वभर रहेका हरेक बुद्धिजिबीको मानसपटलमा घुसिएको एक अत्यन्त रोचक बिषय र बिबेचना हो, जसले विचार र उत्पादनका सामान तथा सेवाका अन्य सुविधालाई विश्वब्यापीकरण बनाई संसारका समस्यालाई सरलीकृत गर्ने नै हो।

यसमा आजको निजीकरण, उदारीकरण र बजारीकरण पर्दछ। यसमा पनि सबैभन्दा संवेदनशील कुरा भनेको आर्थिकीकरण, बिचारको प्रवाह, प्राविधिक र संस्कृतिको बिकासको मोड नै हो।

यसैको फलस्वरूप नेपालको राजनीतिमा बारम्बार फेरबदल भइरहनु, अर्थतन्त्रमा उतार चढाव भइरहनु, संविधान मै लेखिएका कतिपय कुराहरु पुरानो र असान्दर्भिक भइ फेरबदल गर्नु पर्ने पार्टी-पार्टीबीच मनमुटाब बढिरहनु र कर्मचारीतन्त्रमा अवाञ्छित घुसपैठ भइ बिभिन्न विकृतिहरु सृजना भइरहनु र त्यही सेवा प्रवाह र मोडमा नेपालका बिज्ञ भनाउँदा त्यसैको तालमा भजन गाइरहनु सबै विश्व व्यापीकरणको प्रभाव हो।

यही विश्वव्यापीकरणको प्रभावले संसारको अर्थ व्यवस्था र शक्तिलाई एकै ठाँउमा अधिनस्त गर्न ठुला देश लागिपरेका छन्। आज हवाइमार्ग र दूरसंचारको बिश्वब्यापीकरणले नेपाललगायत सम्पूर्ण तेश्रो मुलुकका देशपनि एउटा सानो गाउँमा परिणत भइसकेको अवस्थामा नेपाल पनि त्यो भूराजनीतिक र आर्थिक चपेटाबाट बिमुख रहन सक्तैन।

आज विश्व नै दुई भागमा विभाजित छ। एक प्रजातान्त्रिक र अर्को साम्यवादी विचारधारा बोकेका ठुला राष्ट्रहरु। यसैमा शक्तिको तछाड मछाडको रुप लिइ जगजगी मच्चिइरहेको छ। यसको प्रभावले साना तेश्रो मुलुकका देश आफ्नो बचाउको लागि क्षेत्रीय संस्थाहरुमा आबद्ध भएका छन्।

यसैको कारण अफ्रिकामा अफ्रिकन युनिअन, युरोपमा नेटो, दक्षिण पूर्वीण् एसियामा आसियान र दक्षिण एसियामा सार्क आदि संस्था स्थापना भइ आआफ्नो क्षेत्रको राजनीतिक र आर्थिक बिकासको दौडमा छन्।

तसर्थ यो विश्वको भूमण्डलीकरणको दौरानमा चम्किइी रहेको भूराजनीतिक र अर्थनीतिले नेपाललाई झन झन् प्रभाव पारिनै रहने हुँदा यो प्रभावलाई केन्द्र बिन्दु बनाइ नेपालले पनि अब आफ्नै किसिमको रणनीति अपनाउनु पर्ने बेला आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *