क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न

डिसी नेपाल
१४ चैत २०८० २०:३७
168
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग बार्षिक सम्झौता गरेको छ। क्यानले बुधबार केन्दीय सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र दिएको हो।

क्यानका सचिव पारस खड्काले राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहितका खेलाडीलाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन्। क्यानले ‘ए’ श्रेणीका पुरुष खेलाडीको मासिक तलब ६० हजारबाट एक लाख रुपैयाँ पुर्‍याएको छ।

क्यान बैठकले सन् २०२४ मा सम्झौतामा रहने ३० पुरुष र १९ महिला खेलाडीको वर्गीकरण सार्वजनिक गर्दै खेलाडीको सुविधा विस्तार गर्ने निर्णय गरेको थियो। नयाँ वर्गीकरण अनुसार रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल ए श्रेणीमा रहेका छन्।

त्यसैगरी पुरुषतर्फको बी श्रेणीमा कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, अरिफ शेख र अविनाश बोहरा छन्। विनोद भण्डारीसँगै, अर्जुन साउद, सन्दिप जोरा र प्रतिश जिसी सी श्रेणीमा रहेका छन्। यो वर्षदेखि क्यानले डी र इमर्जिङ श्रेणी थपेको छ। थप गरिएको डी श्रेणीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन्।

दीपेश कँडेल, रुपेश सिहं, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी इमर्जिङ श्रेणीमा रहेका छन्। सम्झौता अनुसार ए श्रेणीका खेलाडीले एक लाख, बी ले ७० हजार, सी ले ५५ हजार, डीले ३५ तथा इमर्जिङले २५ हजार मासिक तलब पाउने छन्।

क्यानले यस अघि नारी दिवसको दिन महिला क्रिकेटरसँग सम्झौता गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *