आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु

डिसी नेपाल
१५ चैत २०८० १७:४८

सुन्दरहरैँचा। मोरङको  विराटनगरस्थित सहिद रंगशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु भएको छ।

प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। उनले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिए।

प्रतियोगिताका लागि आयोजकका तर्फबाट सांग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल संघ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन्।

पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन्। त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताए।

प्रतियोगिताको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो। गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो। विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो।

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले रु २५ लाख दिने प्रतिबद्धता जनाएको बताइएको छ। त्यस्तै विराटनगर महानगरपालिकाबाट रु १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख प्राप्त हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड १८ लाख ४३ हजार दुई सय अनुमानित खर्च लाग्ने जनाइएको छ। टिकटबाट न्यूनतम रु ५० लाख उठ्ने ट्रष्टको दाबी छ। आजबाट सुरु हुने रात्रिकालीन विराट गोल्डकप यही चैत २४ गते समापन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *