न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधँै लाग्नुपर्ने बताएका छन्। नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिए।
‘म पनि लागिरहेको छु, सिंगो न्यायापालिका लागिरहेको छ’, उनले भने, ‘श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरीबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ।’ प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौंमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पु¥याउन सक्ने विश्वास व्यक्त गरे। उनले मुद्दा फछ्र्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताए।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताए। ‘न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ’, अध्यक्ष कुँवरले भने, ‘अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउने छौँ।’
सोही अवसरमा विशेष अदालत बार एशोसिशनका अध्यक्ष चुणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधानन्यायाधीशलाई जानकारी गराएका थिए।
प्रधानन्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताए। प्रधानन्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment