स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

डिसी नेपाल
१५ चैत २०८० २२:५७

देउखुरी। लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन्। चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ। वाणगंगा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पंगेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए।

उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन्। दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पंगेनीले बताए। पहिलो प्रयास सफल भएकोमा उनी धेरै खुसी छन्। ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उनीहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए।

पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेका हौँ राम्रो आम्दानी भयो। दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उनले बताए। एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उहाँले बताउनुभयो । उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ। एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए। यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ। स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुविधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए।

मंसिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु ग¥यो। अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए। रु पाँच लाख आम्दानी भइसकेको छ। लमही, तुलसीपुरमा दैनिक ग्राहकले पाँच किलो नियमित लैजाने गरेको उनले बताए। घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ। दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ। ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उनले बताए। मंसिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आसा गरेको उनले सुनाए। दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ। अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उनको अनुभव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *