वीरगंजमा अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ पक्राउ

डिसी नेपाल
१७ चैत २०८० २१:५२
8
Shares

वीरगंज। वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताए। सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्स सामानहरु समेत बरामद भएको बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो। प्रहरीका अनुसार चिनियाँ गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन। सोही घरमा चिनिया नागरिकले संचालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन्। भोली (आइतबार) पक्राउ परेका र बरामद सामानहरु बारे विस्तृत रुपमा जानकारी गराइने पर्सा प्रहरी प्रवक्ता थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *