म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडक निर्माण

डिसी नेपाल
१९ चैत २०८० २२:००

म्याग्दी। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ। अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो। लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

चालु आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई÷दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ। तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

गत फागुन महिनामा सम्झौता भएको योजना आगामी २०८१ साल असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका इञ्जिनियर लोकेन्द्र रावलले बताए। ‘दुईवटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङतर्फबाट करिब नौ सय मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ,’ उनले भने, ‘दुई लाख पाँच हजार घनमिटर माटो कटिङ गर्ने सम्झौताअनुसार देउराली डाँडासम्म करिब ६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ।’

गाउँपालिकाको केन्द्र मुना हंँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको छ। गत वर्ष गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङदेखि लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो। देउरालीदेखि गुर्जातर्फ पनि सडक निर्माणका लागि आगामी वर्षको बजेटमा पनि योजना समेट्नका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए।

एउटै बस्ती एकै वडामा समेटिएको दुई सय ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँचजना छ। खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ। सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ। बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर ’चार्टर‘ गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *