धुलाम्मे कर्णालीसँगै जोखिम यात्रा

डिसी नेपाल
२५ चैत २०८० १४:५२

काँक्रेविहार (सुर्खेत)। कर्णालीको राजधानी सुर्खेतबाट साविकको कर्णालीको मुगु पुग्न दुई दिन लाग्छ । धुलाम्मे बाटो साँघुरा मोडहरुले यो खण्ड भएर यात्रा गर्दा निकै सास्ती हुने गरेको छ ।

सुर्खेतबाट मुगु पुग्न दुई दिन लाग्नुका साथै धुलोका कारण गाडी र यात्रु नचिनिने अवस्थामा गमगढी पुग्ने गरेका यातायात व्यवसायी बताउँछन् । एकतर्फी यातायातका साधन सञ्चालनमासमेत धौँधौँ पर्ने यो सडकमा यात्राभन्दा बढी सास्ती हुने गरेको पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताए ।

“ताल्चास्थित विमानस्थल सदरमुकामको माथिपट्टी भए पनि मौसममा समस्या आउन वित्तिकै जहाज सजिलै आउन सक्ने अवस्था छैन । काठमाडौँ पुग्ने जहाजको भाडाले नेपालगञ्जबाट मुगु आउन सकिन्छ”, उनले भने ।

मल्लका अनुसार सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु हुँदै कर्णाली राजमार्ग हुम्लामा मिसिने गर्दछ । हुम्लामा अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको तितो यथार्थ रहेको भन्दै मुगुको सदरमुकाम गमगढीमा मुस्किलले ठूला बस सञ्चालन हुने गरेका उनले बताए ।

एकहोरो मात्र सञ्चालन हुने यो सडकमा गाडीहरु दुईतर्फी (विपरित दिशातर्फ) जान पहिले नै फराकिलो सडक भएको ठाउँमा रोक्नुपर्ने अवस्था छ । जुम्लासम्मको सडकमा कालोपत्रको काम भए पनि त्योभन्दा माथि कालोपत्र हुन सकेको छैन । धुलाम्मे सडकमा जोखिम मोल्दैँ जबरजस्ती यातायातका साधन भाग्यको भरोसामा कुदाउँने गरेको चालक नवीन शाहीले बताए । बिहान गाडी चढेको व्यक्ति बेलुकीसम्म गन्तव्यमा पुग्नका लागि देवी, देवता पुकार गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटकीय क्षेत्र रारा मात्र नभई नेपाली भाषाको उद्गमस्थल सिङ्जा यही साविकको कर्णालीमा छ । यहाँ विभिन्न धार्मिक पर्यटकीय क्षेत्र भए पनि यात्रुलाई भने सास्ती हुने गरेको छ ।

धार्मिक तथा प्राकृतिक रुपमा रमणीय भए पनि यात्रा भने जोखिपूर्ण रहेको चालक शाहीले बताए । कालिकोटको केही क्षेत्रमा यात्रा गर्दा दोहोरो गाडी सञ्चालन गर्न मिले पनि जुम्ला, दैलेख खण्डका अधिकांश ठाउँमा एकतर्फी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

राज्यले साविकको कर्णालीमा पूर्वाधार निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गर्न नसकेको कर्णालीवासी आरोप लगाउँदै आएका छन् । जल, जमिन, जडिबुटी तथा धार्मिक रुपमा प्रसिद्ध कर्णालीमा राज्यको लगानी भने न्यून मात्रामा रहदा यहाँ विकास हुन नसकेको मुगुका स्थानीय मिलन विकले बताए । हुम्लामा सडकको पहुँच विस्तार नहुँदा थप सास्ती हुने गरेको उनको भनाइ छ ।

कर्णालीसम्म आउन सकिने रकमले विदेश घुमेर आउन सकिने अवस्था हाएको विकले बताए । यो सडकले त्रिदेशीय सीमा जोडेको छ । भारत र चीनसँग जोड्ने उक्त खण्डमा राज्यले पर्याप्त पूर्वाधार विकास नगर्दा आवागमनमा सास्ती हुने गरेको उनको भनाइ छ ।

स्थानीय तह स्थापनासँगै केही कच्ची सडक कटानका काम भए पनि धुलाम्मे, साँघुरा सडक भएकाले मृत्यु मार्ग जस्तै बनेका स्थानीयको आरोप छ । पक्की र कच्ची कटान भएको ठाउँमा एकतर्फी यातायातका साधन सञ्चालन गर्नुपर्दा थप सास्ती हुने गरेको सवारी चालक बताउँछन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *