कविता : वर्ष २०८० को बिदाइमा
एक झरेको फूलसँग यहाँ,
हुन्न कसैको नाता खास,
बिर्सिदिन्छन् सबले उसकाे
सुन्दर रूप र मधुर सुवास।
प्रकृति देवीको अनुपम रचना,
कोमलताको उत्तम नमुना,
भर्थ्यो जसले छरी सुहास,
मानव मनमा अति उल्लास।
समदर्शी झैँ सुखमा दुःखमा,
दिन्थ्यो उस्ले सबको साथ,
जन्म मरण अनि खुसियालीमा,
सामेल हुन्थ्यो एकै नास।
मन्दिर होस् या रंगमञ्च अनि,
मण्डप होस् वा होस् मसान,
मौन रहिकन अरुका लागि
दिन्थ्यो आफ्नै उ बलिदान।
तर,
एक झरेको फूलसँग यहाँ,
हुन्न कसैको नाता खास,
बिर्सिदिन्छन् सबले उसकाे
सुन्दर रूप र मधुर सुवास।
स्वार्थी दम्भी मानव जाति,
गर्दै उसको अति उपहास,
ठोकर हानी पदले कुल्ची,
पार्दछन् उस्कै सत्यनाश ।
क्षत विक्षत भै टुक्रिई-छरिई,
मिल्दछ एक दिन धर्तीमा,
केवल घृणा नै पायो उसले,
चोखो सेवाको साटोमा ।
चोट,आँसु र सुस्केरा,
बोकी कमलो छातीमा,
त्याग,तपस्या सुन्दर कृति,
मिल्दछ आखिर माटोमा।
एक झरेको फूलसँग यहाँ,
हुन्न कसैको नाता खास,
बिर्सिदिन्छन् सबले उसकाे,
सुन्दर रूप र मधुर सुवास।
No ads found for this position


Facebook Comment