उद्धव थापालाई सांसदबाट बर्खास्त गर्न राप्रपाको निवेदन प्रदेश सभा सचिवालयमा

डिसी नेपाल
८ भदौ २०८३ १४:१२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्णय र निर्देशनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य (सांसद) पदबाटै पदमुक्त गर्न बागमती प्रदेश सभा सचिवालयमा औपचारिक निवेदन दर्ता गराएको छ।

राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित पत्र, केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, अनुशासन समितिको सिफारिस तथा स्पष्टीकरण सम्बन्धी प्रमाणहरूसहितको कागजात उपसभामुख अप्सरा चापागाईंसमक्ष पेस गर्दै कारबाही प्रक्रिया तत्काल अघि बढाउन माग गरेकी हुन्।

राप्रपाले थापाले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठन प्रक्रियामा पार्टीको केन्द्रीय आधिकारिक निर्णय र ह्विपविपरीत समर्थन जनाएको, अनुशासन समितिले सोधेको स्पष्टीकरणको समयसीमाभित्र कुनै जवाफ नदिएको र अनुशासनहीनता प्रदर्शन गरेको भन्दै पदमुक्त गर्न सिफारिस गरेको हो । यसअघि नै केन्द्रीय कार्यसम्पादन समितिले थापाको पार्टी साधारण सदस्यता खारेज गरिसकेको छ।

हेटौँडास्थित प्रदेश सभा सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै प्रमुख सचेतक तामाङले मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरिन्। थापामाथि निष्कासनको कारबाही कार्यान्वयन नभएसम्म राप्रपाले बागमती प्रदेश सभाका कुनै पनि बैठक सहज रूपमा चल्न नदिने र नियमित कार्यसूची अवरुद्ध गर्ने चेतावनी दिएकी छन्।

मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा राप्रपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। केन्द्रीय नेतृत्वले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरे तापनि प्रदेश सभामा राप्रपाका सांसदहरू दुई ध्रुवमा विभाजित भएका छन् । एक पक्ष मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने र असंवैधानिक प्रक्रियाको विरोध गर्ने अडानमा छ भने अर्को पक्ष मुख्यमन्त्रीलाई नै समर्थन गरी विश्वासको मत दिने पक्षमा छन् ।

सभामुख तथा प्रदेश सभा सचिवालयले थापाको सांसद पदबारे लिने आगामी निर्णयले बागमती प्रदेश सरकारको भविष्य र सत्ता समीकरणलाई निर्णायक असर पार्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *