गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो खिचेर सार्वजनिक गर्ने एक प्रहरी पक्राउ
काठमाडौं। बारा निवासी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरको बयान चलिरहेका बेला बयान कक्षभित्रै खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि नै गम्भीर प्रश्न उठेको थियो। भिडियोमा किशोरले घटनाबारे विस्तृत विवरण दिइरहेको देखिन्छ।
प्रहरीसमक्ष कानुनी प्रक्रियाअन्तर्गत लिइएको बयानको भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान अघि बढाउने क्रममा भिडियो बयान कक्षभित्रैबाट बाहिरिएको हुनसक्ने देखिएको हो। त्यसपछि भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए।
प्रहरीका अनुसार बयानको भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। भिडियो खिच्ने तथा बाहिर सार्वजनिक गर्ने कार्यमा अन्य प्रहरीको समेत संलग्नता भए–नभएकोबारे अनुसन्धान भइरहेको छ।
बालिकाको हत्या जस्तो संवेदनशील घटनामा अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान प्रक्रिया, पीडितको गोपनीयता तथा प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। प्रहरीले भिडियो सार्वजनिक गर्ने कार्यमा संलग्न सबैको पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment