देउवालाई भेट्ने गगनको प्रयास, विवाद समाधान कि शक्ति संघर्ष ?

डिसी नेपाल
८ भदौ २०८३ १३:०५

काठमाडौँ। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि झाँगिँदै गएको नेतृत्व विवाद र आधिकारिकताको कानुनी लडाइँबीच पार्टी सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि पहलकदमी बढाएका छन्। पार्टीमा चुलिँदै गएको आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्ने उद्देश्यका साथ सभापति थापाले देउवासँग भेटको समय मागेका हुन्।

सभापति गगन थापाले पूर्वसभापति देउवाका स्वकीय सचिव भानु देउवामार्फत टेलिफोन गरी भेटवार्ताको समय मिलाइदिन आग्रह गरेका हुन् । तर, देउवा हङकङ भ्रमणबाट फर्किएको दुई साता पुग्न लाग्दासमेत थापाको सचिवालयले मागेको भेटको समयबारे देउवा पक्षबाट कुनै ठोस औपचारिक जवाफ आएको छैन।

हङकङबाट फर्किएपछि देउवाले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी र नेतृत्वलाई स्वीकार गरेका छैनन्। उनले चुनदेवीस्थित निवासमा सभापतिकै हैसियतमा नेमप्लेट राखेर आफूनिकट नेताहरूसँग नियमित परामर्श गरिरहेका छन्।

विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमिति र १५ औँ महाधिवेशनको घोषित कार्यतालिकालाई लिएर देउवा पक्ष असन्तुष्ट रहँदै आएको छ। देउवा पक्षले विशेष महाधिवेशन र त्यसका निर्णयहरूमाथि कानुनी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

देउवानिकट नेताहरूका अनुसार, सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकतासम्बन्धी विचाराधीन मुद्दाको अन्तिम छिनोफानो नभएसम्म देउवा नयाँ पदाधिकारीहरूसँग औपचारिक भेटवार्ता नगर्ने मनस्थितिमा छन्। अर्कोतर्फ, सभापति गगन थापाले भने पार्टीलाई एकबद्ध बनाएर अगाडि बढाउन भन्दै पूर्वपदाधिकारीहरूसँग सहमतिको प्रस्ताव अघि सारेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *