वर्षान्त

२०८० को सम्झना, २०८१ मा अपेक्षा

डिसी नेपाल
३० चैत २०८० १२:५०

काठमाडौं। नयाँ वर्षको सम्मुखमा राजनीतिक अन्योलता कायमै छ। आज २०८० सालको अन्तिम दिन र ०८१ को पूर्वसन्ध्यामा विगतको समीक्षा गर्दा राजनीतिकरुपमा भने त्यति सुखद् हुन सकेन।

राजनीतिक उतारचढावका साथ गुज्रिएको यस वर्ष खासै उल्लेख्य हुन सकेन। सत्ता राजनीतिमा केन्द्रित दल र तिनका नेताहरुले मुलुकका लागि उपलब्धिमूलक कार्य गरेको जनस्तरबाट अनुभूति हुन सकेन।

यस वर्षको उत्तराद्र्धमा विगतको स्मरण गर्दा नेपालको राजनीतिमा केही सम्झनायोग्य परिघटना घटित भए। प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता सहयात्री अदलबदलले सरकार परिवर्तनबाहेक जनतालाई अरु कुनै सकारात्मक सन्देश दिलाउन सकेनन्।

वर्ष ८० को अन्त्यतिर प्रधानमन्त्री दाहालले पुरानो सहयात्री कांग्रेसलाई लत्याएर आफूलाई प्रधानमन्त्री बनाएको एमालेसँग नयाँ समीकरण तय गरे। उनको यही फाग्न २१ मा समीकरण अदल बदलले नेपाली राजनीतिमा सदैब अस्थिरता मडारिने संशय झनै बढाएको छ।

वर्ष २०८० मा कतिपय स्मरणयोग्य घटनाक्रम विकसित भएका छन्। नयाँ दल रास्वपाप्रतिको आकर्षण वर्षको सुरुवातमै भएको उपनिर्वाचनले देखाएको छ भने अन्य महत्वपूर्ण राष्ट्रिय राजनीतिका केही मुख्य घटनाक्रमलाई यहा लिपिबद्ध गरिएको छ।

वर्षको सुरुवातमै भएको उपनिर्वाचनले केही नेताको कमब्याक

यस वर्षको सुरुवातमै सम्पन्न भएको उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा उल्लेख्य प्रभाव पार्यो। त्यसैको प्रतिफलस्वरुप अहिले उपनिर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधि वर्तमान सरकारमा सहभागी छन्।

यस उपनिर्वाचनले रास्वपाका सभापति रवि लामिछानेलाई उल्लेख्य मतले चितवन २ बाट विजयी भए। त्यसअघि गत २०७९ मंसिर ४ को निर्वाचनमा त्यहीबाट निर्वाचित भएका उनको नागरिकता प्रकरणमा सर्वोच्चले संसद पद खारेज गरिदिएको थियो।

सर्वोच्चको फैसलाले तत्कालीन अवस्थामा गृहमन्त्री रहेका उनले पार्टी अध्यक्ष पनि गुमाएका थिए। नेपाली नागरिकता पुनःप्राप्ति पछि पुरानै निर्वाचन क्षेत्रमा विगतको आफ्नै मत परिणाममा उल्लेख्य वृद्धि गर्दै निर्वाचित भएका हुन्। अहिले उनी प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

त्यस उपनिर्वाचनले सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग परासिजत भएका उपेन्द्र यादव पनि संसदमा पुनरागमन गरेका थिए। यी दुवै जना प्रचण्ड नेतृत्वको सरकारमा छन्।

उनले बारा २ बाट निर्वाचित आफ्नै पार्टीका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू उम्मेदवार बनेका थिए। दोस्रो प्रयासपछि संसदमा छिरेका उनी अहिले स्वास्थ्य मन्त्रीका रुपमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन्।

तनहुँ १ बाट अर्थशास्त्री स्वर्णिम वाग्लेले संसदको यात्रा तय गर्न पुगे। कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका उनले उपनिर्वाचनमार्फत संसदको यात्रा तय गर्न सफल भएका हुन्।

शीर्ष नेताका काण्डैकाण्ड सतहमा

यस वर्ष राष्ट्रिय राजनीतिका केही शीर्ष नेताहरुलाई नक्कली भुटानी शरणार्थी र सुन काण्डमा मुछिन पुगे।

माओवादी हुँदै एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर संसद पदसहित पार्टीबाट निलम्बन भए।

कांग्रेसमा भावी नेतृत्वको आकांक्षीका रुपमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाड पनि नक्कली शरणार्थी काण्डमा मुछिएर पूर्पक्षका लागि थुनामा पुगे।
जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा पुगेका उनी उच्चको आदेशबाट धरौटीमा रिहा भइसकेका छन्।

टोपबहादुर भने थुनामा रहेर मुद्दाको पूर्पक्ष गरिरहेका छन्। उनका छोरा सन्दीप भने धरौटीमा थुनामुक्त भइसकेका छन्।

लामो राजनीतिक इतिहास बोकेका नेताहरु नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनीहरुको लागि वर्ष २०८० अभिशाप सावित भएको छ।

भुटानका राजनेता टेकनाथ रिजाल पनि शरणार्थी प्रकरणमा मुछिएका थिए। नेपालमा आफैं शरणार्थीका रुपमा बसिरहेका उनलाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा थुनामा परेका थिए। उनी अहिले धरौटीमा रिहा भइसकेका छन्।

यस वर्ष कतिपय राजनीतिकर्मीहरुका लागि दुखद् अवस्था निम्तिएको छ।

एमाले कांग्रेसका उच्च तहका नेताहरु नक्कली शरणार्थी प्रकरणमा आरोपी भइरहँदा सत्तारुढ माओवादी नेताका छोराछोरीको यस प्रकरणमा संलग्न रहेको समाचार सार्वजनिक भयो। माओवादी नेता कृष्णबहादुर महरा सुनतस्करीको आरोपमा पक्राउ समेत परे।

माओवादीका उपाध्यक्ष महरा सुन तस्करी प्रकरणमा पक्राउ परेर रिहा भए भने उनका छोरा अहिले पनि सोही प्रकरणमा थुनामा छन्।

यस वर्ष कतिपयको राजनीतिक उदय भयो भने राष्ट्रिय राजनीतिमा स्थापित नेताहरुको विभिन्न काण्डले राजनीतिक सक्रियताबाट गुमनाम भएका छन्।

सरकारमा कांग्रेसको बहिर्गमन र एमाले रास्वपाको पुनरागमन

गत वर्ष २०७९ को निर्वाचन लगत्तै टुटेको चुनावी गठबन्धनमा राष्ट्रपति र उपराष्ट्रपति जोडेको थियो। कांग्रेस माओवादी गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर तोड्न सफल भएको एमाले राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ गुमाएको थियो।

अहिले फेरि कांग्रेससँगको सहयात्रा लत्याए माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पुरानै सहयात्रीको साथ लिँदै सरकार सञ्चालन गरिरहेका छन्।
गत वर्ष पुस १० गते आफूलाई प्रधानमन्त्री बनाएको एमाले र रास्वपालाई नयाँ गठबन्धनमा सामेल गराएर कांग्रेसलाई फागुन २१ देखि सत्ताबाट बाहिर पुर्‍याएका छन्।

यस वर्ष राष्ट्रिय राजनीतिमा सरकार अदलबदलले विगतको अस्थिरतालाई निरन्तरता दिइरहेको छ। केन्द्र शीर्ष नेताहरुले गरेको गठबन्धन परिवर्तनले प्रदेशमा पराकम्प गएको छ। अहिले केन्द्रको बदलिएको समीकरण अनुसार प्रदेशमा नयाँ सरकार बन्ने चलिरहेको छ।

भूकम्पले पश्चिम नेपाल क्षतविक्षत, रसियन सेनामा नेपालीको निधन लगायतका दखदायी घटना

यस वर्ष जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिम नेपालमा ठूलो धनजनको क्षति हुन पुग्यो।

जाजरकोट र रुकुमका ग्रामीण भेगमा भूकम्पले स्थानीयलाई आहत बनायो। उनीहरुले मानवीय र भौतिक क्षति व्यहोर्न पुगे। अहिलेसम्म राहत वितरण कार्य चलिरहेको छ भने अधिकांशका क्षतविक्षत भएका भौतिक संरचनाको पुनर्निमाण हुन सकेको छैन।

यसै वर्ष रुस य्क्रेन युद्धमा सहभागी हुन रसियन सेनामा भर्ना भएका नेपालीको दुखद निधन भएको छ। नेपालबाट रसिया पु्गेर त्यहाँको युद्धमा सहभागी दर्जनौं नेपालीहरुले ज्यान गुमाउन पुगे भने केही युक्रेनीको कब्जामा रहेका छन्।

यस वर्ष भूकम्पबाट मानवीय क्ष्ति व्यहार्नु पर्‍याे भने रसियन सेनामा भर्ना भएका नेपालीहरुले आफ्नो जीवन युद्धभूमिमा गुमाउन पुगेका छन्। अझै पनि ठूलो संख्यामा नेपालीहरु कार्यरत रहेको बताइएको छ।

सरकारले सुरुमा युद्धमा सहभागी नहुन आग्रह गरे पनि उद्धार कार्य भने प्रभावकारी रुपमा गर्न सकेको छैन। उद्धार कार्यका लागि रसियन सरकारसँग छलफल भइरहेको जनाएको छ। यद्यपि कुनै परिणाम भने हात लाग्न सकेको छैन।

वर्ष २०८० मा प्राकृतिक विपत्तिले मानवीय क्षति भयो भने रोजगारीका लागि युद्धरत मुलुकमा पुगेका नेपालीहरुको दुखद् निधन हुन पुग्यो।

सारांशमा यस वर्ष नेपाल र नेपालीका उल्लेख्यरुपमा दीर्घकालीन महत्त्वका स्मरणीय रहन सकेन। सधैंको राजनीतिक अस्थिरताले आजित नेपालीजनले यस वर्ष त्यसबाट मुक्त हुन नसकेको घटनाक्रमले दर्शाउँछ।

२०८१ मा अपेक्षा

आगामी २०८१ साल सुखद् बन्ने आम नेपाली जनको अपेक्षा छ। नयाँ वर्ष सबै नेपालीका लागि सुखद् र नेपाली राजनीति स्थिर बनोस् भन्ने सबैको चाहना छ। विगतका अस्थिरता र सत्ता प्राप्तिको खेलले नेपाली जनता आक्रान्त छन्।

दैनिक जिवीकोपार्जनका लागि विदेशिनुपर्ने अवस्था यस वर्ष पनि निकै बढोत्तरी भएको छ। स्वदेशमै रोजगारीको अवसर र जनतालाई राज्यको अनुभूति गराउन चुकेका दलहरुले आगामी वर्ष त्यसतर्फ ध्यान दिने आम जनताको अपेक्षा छ।

विगतदेखि अस्थिरता र राज्यविहीनताले प्रताडित नेपालीहरुले अबको नयाँ वर्ष मुलुकक लागि राजनीतिक स्थायित्व र जनतालाई स्वदेशमा बस्ने वातावरण राज्यले सिर्जना गर्नेमा आशावादी देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *