लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

डिसी नेपाल
१ वैशाख २०८१ २३:३०
12
Shares

कास्की। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ।

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जिते। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाए।

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भए। उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे। उपविजेता बोगटीले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए। उनले रु २० हजार पुरस्कार पाए। सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए। उहाँहरूले क्रमशः रु १० हजार रु पाँच हजार पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने। चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरेका गरे। चालिसे पोखरा–१७ बिरौटा निवासी हुन्। उनले उपाधिसहित रु १० हजार पुरस्कार पाए।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने। गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए।

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ। एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भए।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाए। तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः रु १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए।

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए। उनीहरूले क्रमशः रु १० हजार, सात र पाँच हजार पुरस्कार पाए। विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गंगा गुरूङ तेस्रो भए।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ। विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, र तृतीयले रु पाँच हजार पुरस्कार पाए।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेक थिए। प्रतियोगितामा छ विधामा गरेर चार सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *