सिड्नीको चर्चमा छुरा प्रहारको घटना ‘आतंकवादी घटना’ घोषित

डिसी नेपाल
४ वैशाख २०८१ १४:२४

काठमाडौं । अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु प्रहारलाई धार्मिक रूपमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ ।

अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्यलाई चक्कुले आक्रमण गरिएको थियो। यस मामिलामा एक १६ वर्षीय बालक पक्राउ परेका छन् ।

घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । तर, उनीहरूलाई लागेको चोटले ज्यान जोखिममा पार्दैन । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् ।

सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो र त्यहाँ आक्रमणको पनि प्रसारण भयो।

घटनापछि सयौं मानिस चर्च बाहिर जम्मा भएका थिए र प्रहरीसँग झडप भएको थियो । सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ ।

घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका छन् र आक्रमणलाई चिन्ताजनक भनेका छन्।

उनले भने, ‘हामी शान्तिप्रेमी देश हौँ । यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ छैन।

अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो ।

भर्खरै सिड्नी शहरको एक भीडभाड मलमा एक व्यक्तिले चक्कु प्रहार गर्दा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *