इरान–इजरायल युद्ध भयो भने आफू पनि खुलेर मैदानमा उत्रिने रुसको घोषणा

डिसी नेपाल
४ वैशाख २०८१ १५:२३

काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले शनिबार–आइतबार राति अबेरसम्म इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन खसालेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्डनले भने – यो आक्रमणले सबै सीमा पार गरेको छ र इजरायलसँग यसको जवाफ दिने अधिकार छ।

योसँगै इरान र इजरायलबीचको युद्धले विश्वलाई फेरि दुई गुटमा बाँडेको छ । ह्वाइट हाउसले इजरायलले इरानमाथि आक्रमण गरे अमेरिकाले समर्थन नगर्ने बताएको छ । यसैबीच रुसले अमेरिकालाई चेतावनी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई इरान र इजरायलमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । पुटिनले इरानमाथि इजरायलको काउन्टर आक्रमणमा अमेरिका सहभागी भए वा कुनै पनि प्रकारले सहयोग गरेमा रूस चुपचाप नबस्ने बताएका छन् । रूसले इरानको समर्थनमा खुलेर उभिने घोषणा गरेको छ ।

यसअघि रुसले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेको थियो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लायानसँग टेलिफोनमा कुराकानी पनि गरेका छन् ।

इरानको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानको आक्रमणपछि अमेरिका, बेलायत र फ्रान्स इजरायलको पक्षमा दृढताका साथ उभिए ।

अमेरिका र बेलायतले इरानका धेरै मिसाइल र ड्रोन हावामा खसालेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोनमा कुराकानी भएको छ ।

सो क्रममा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको थियो । बाइडेनले इरानको धम्कीका बिरुद्ध इजरायलको सुरक्षाका लागि प्रतिबद्ध रहेको र त्यसको पक्षमा दृढताका साथ खडा रहेको बताए ।

अमेरिकाले नेतन्याहुलाई इरानको आक्रमणबाट इजरायललाई बचाउने लडाइमा इजरायलको साथमा उभिने तर यदि इजरायलले कुनै पनि ढाँचामा इरानमाथि जवाफी हमला गरे अमेरिकाले साथ नदिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *