मध्यपूर्वमा भीषण वर्षा र बाढी, दुबईमा विमानस्थल डुब्यो, ओमानमा १८ जनाको मृत्यु

डिसी नेपाल
५ वैशाख २०८१ १३:२२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) र आसपासका देशहरूमा मंगलबार भीषण वर्षा भएको छ । अवस्था यस्तो छ कि युएईमा जताततै पानी देखिन्छ । बाढीका कारण धेरै सहर जाम भएका छन् । यति मात्र होइन, छिमेकी राष्ट्र ओमानमा भारी वर्षाका कारण आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण आएको बाढीले दुबईको यातायातमा सबैभन्दा बढी असर पारेको छ । सडक र हवाई यातायात पनि अवरुद्ध भएको छ । दुबई एयरपोर्ट पानीले भरिएको छ। जसका कारण धेरै उडानहरु रद्द गर्नु परेको छ । यसअघि सोमबार दुबई प्रहरीले खराब मौसमबारे मानिसहरूलाई सचेत गराउन सार्वजनिक सुरक्षा एडभाइजरी जारी गरेको थियो।

युएईको मौसम विभागले आगामी २४ घण्टामा दुबई, अबुधाबीलगायत धेरै ठूला सहरमा भारी वर्षा र असिनासहित पानी पर्ने चेतावनी दिएको थियो । युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले मंगलबार दिउँसोदेखि बुधबार बिहान (अप्रिल १७) सम्म पश्चिमी क्षेत्रबाट खराब मौसमको अर्को लहर सुरु भएर देशका धेरै क्षेत्रमा फैलिन सक्ने बताएको छ।

आइतबार र सोमबार ओमानका विभिन्न भागमा आएको बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन समितिले जनाएको छ। देशका विभिन्न स्थानमा तीव्रताका साथ वर्षा जारी छ । बुधबारसम्म मौसम खराब रहने अनुमान गरिएको छ ।

गत वर्ष नोभेम्बरमा पनि दुबईको मौसम बिग्रिएको थियो । हावाहुरीका कारण सहरमा बाढीको अवस्था सिर्जना भएको थियो । स्थिति यति बिग्रिएको थियो कि प्रशासनले मानिसहरूलाई समुद्र तटमा जान निषेध गरेको थियो। तातो र मरुभूमि देशको मौसममा अचानक आएको परिवर्तनले विश्वभरका वैज्ञानिकहरु छक्क परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *