काठेखोला गाउँपालिका जुट्यो आधारभूत अस्पताल निर्माणमा

डिसी नेपाल
७ वैशाख २०८१ १०:२६
28
Shares

बागलुङ। बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो।

सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएलगत्तै यस वर्ष आधारभूत अस्पताल बनाउन थालेको हो। पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था छैनन्। स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन्। साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी तत्कालीन गाविसमा एक–एकवटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन्।

टाढाका गाउँलेलाई लक्ष्यित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए। गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनले बताए। आधारभूत अस्पताल २०८२ असोजमा सक्नेगरी निर्माण भइरहेको छ।

पछिल्ला पाँच वर्षमा वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *