स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

डिसी नेपाल
१२ वैशाख २०८१ २२:३६

लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताएका छन्। आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न उनले आग्रह गरे।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार समाल्दै आएका मुख्यमन्त्री अधिकारीको स्वागतमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्यकर्मीले सीमित स्रोत र साधनभित्र रहेर पनि आफ्नो सेवा प्रवाह प्रभावकारी रुपमा फैलाउनसपर्नेमा जोड दिए।

‘सामान्य उपचारले पनि बिरामीको ज्यान बचाउन सकिन्छ, त्यसैले स्वास्थ्यकर्मीको जिम्मेवारी र महत्व समाजका लागि अतिआवश्यक छ। स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मी आफ्नो व्यक्तिगत सेवा र सुविधाका लागि दौडनेभन्दा पनि जनताको स्वास्थ्य सेवक भएर अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री अधिकारीले भने।

नेपालका दुर्गम गाउँमा अझै पनि स्वास्थ्य सेवा र औषधी नपाएर बिरामीको अकालमै मृत्यु हुने गरेको स्मरण गराउँदै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मीले जनतामाझ स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने बताए।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले मन्त्रालयद्वारा गण्डकी प्रदेशमा भएका उपलब्धि, समस्या र चुनौतीबारे मुख्यमन्त्री अधिकारीलाई जानकारी गराउएका थिए। निःशुल्क प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा नहुँदा समस्या भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *