भूकम्पप्रभावित पत्रकारलाई प्रेस काउन्सिलद्वारा इन्टरनेटमा सहुलियत

डिसी नेपाल
१३ वैशाख २०८१ १९:०३

कर्णाली। प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ। इन्टरनेटमा सहुलियत प्रदान गर्न काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी सञ्चारकर्मी तथा सञ्चारगृहलाई रु ६ लाख सहयोग गरेको हो।

विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका सञ्चारकर्मी तथा सञ्चारगृह प्रभावित भएका थिए। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोलीले जाजरकोट र रुकुमपश्चिममा पुगेर सञ्चारकर्मीलाई सहयोग प्रदान गरेको हो।

अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीका तर्फबाट नेपाल सरकार भूकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरिएको बताए। भूकम्प प्रभावित सञ्चारकर्मीका साथमा काउन्सिल रहेको उल्लेख गर्दै उनले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गरे। दुरदराजमा बसेर गरिएको पत्रकारिताबाट समाज रुपान्तरण गर्न सहयोग पुगेको उनको भनाइ थियो।

मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै सञ्चारगृहको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिए। काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चारगृहको अनुगमन तथा निरीक्षणसमेत गर्नुका साथै आचारसंहिता जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *