मटिहानी आगलागी घटना: क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

डिसी नेपाल
१३ वैशाख २०८१ १९:१५

काठमाडौं। महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ।

यही वैशाख १२ गते भएको उक्त घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ। उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा रहेका छन्।

टोलीले क्षतिको पहिचानका साथै पीडितलाई राहत तथा पुनःस्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनेछ। टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरणसमेत गर्ने प्राधिकरणले जनाएको छ।

जरलहवा टोलमा बुधबार भएको आगलागीबाट एक सय घर जलेका थिए। सो आगलागीबाट चार सय ५५ जना प्रभावित भएका छन्। आगलागीबाट पाँच बाख्रा र दुई सुँगुर जलेर मरेका छन्। प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघ–संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोंगले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *