रियल स्टेट सम्मेलन हुने

डिसी नेपाल
१९ वैशाख २०८१ १०:१२

काठमाडौं। नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल स्टेट सम्मेलन गर्ने भएको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख २३ र २४ गते होटल हिमालयनमा नेपाल रियल स्टेट सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो।

सम्मेलनका संयोजक ओमराज भण्डारीले घरजग्गा कारोबार शिथिल भएको अवस्थामा सम्मेलनको तयारी गरिएको भन्दै सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायी सहभागी हुने बताए। व्यवसायीले अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ थियो।

राजभण्डारीका अनुसार सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल स्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’बारेमा स्वदेशी तथा विदेशी विज्ञ तथा सहभागीबीच छलफल हुने र प्राप्त अवसर कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा रियल स्टेट क्षेत्रमा ख्यातिप्राप्त विदेशी विज्ञको अनुभव र सुझाव प्राप्त हुनेछ। त्यसैगरी सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकसँग पनि अन्तरक्रिया हुनेछ।

उल्लेखित छलफल र अन्तरक्रियाबाट रियल स्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे प्रष्ट कार्यदिशा तयार गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।

विशेषगरी २०६० पछिको दशकमा देशका प्रमुख शहरमा अपार्टमेन्ट र हाउजिङ कोलोनी निर्माण र बेचबिखनमा निजीले प्रवेश पाएको हो। मुलुकभर घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनी वा फर्मको संख्या करिब १८ हजार रहेको महासंघले जनाएको छ।

महासंघका अनुसार देशभरका रियल स्टेट कम्पनीको चुक्ता पुँजी दुर्ई खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ भने सो क्षेत्रमा बैंक लगानी करिब दुई खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । रियल स्टेट क्षेत्रले रोजगारी तथा राजस्व वृद्धि गरी राष्ट्र निर्माणमा टेवा पुर्याउँदै आएको छ। कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान करिब १० प्रतिशत रहेको छ।

घरजग्गाको कारोबार गरी अकुत सम्पत्ति कमाउने र सोको कतै अभिलेख नरहने अहिलेको परिपाटीले समाजमा भ्रष्टाचार र अनियमितता बढाइरहेको भन्दै महासंघले घरजग्गाको कारोबार कम्पनीमार्फत् नै हुनुपर्ने माग गर्दै आएको छ ।

नेपालमा भइरहेको शहरीकरण तथा बसाइँसराइका कारण पहाडबाट तराई झर्ने र गाउँबाट शहर पस्ने प्रवृत्ति व्यापकरूपमा बढिरहेको छ। गाउँका पुख्र्याैली घर खाली छोडेर शहरमा सानो घडेरीमा घर बनाउने वा घर किनेर बस्ने प्रचलन बढ्दै गएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *