उपनिर्वाचनको सन्देश

एमाले र पहिचानवादी उकाली लाग्दै, कांग्रेस र रास्वपा ओराली झर्दै

विजयप्रसाद मिश्र
२३ वैशाख २०८१ ७:५१

बैशाख १५ को उपनिर्वाचनले दिएको सन्देशको विभिन्न कोणवाट विश्लेषण भइरहेको छ।

निर्वाचनको परिणामलाई यसअघिको चुनावको मतसँग तुलना गरेर हेर्दा सहजै भन्न सकिन्छ कि पहिले एमालेले एक्लै जितेकै हो र समानुपातिकमा समेत एमालेको बढी भोट थियो। यसपटक त एमालेलाई माओवादी केन्द्र र विप्लवको समर्थन भएकोले जीत हातपार्नु स्वभाविक थियो।

पहिचानवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मिहिनेत गरेकाले उनीहरुको मत बढलाकी भन्ने आशंका थियो तर दश हजर मत कटाउने पहिचानवादीले पहिलेभन्दा प्रगति गरेको देखिएपनि माओवादी र एमालेको मत काट्न सकेको देखिँदैन।जसले गर्दा राष्ट्रिय स्वतन्त्रपार्टीको त जमानत नै जफत भयो।

नेपाली कांग्रेसले सजिलै जीत हातपार्ला भनेको त उसले पहिलो निर्वाचनको जस्तो पनि गर्न सकेन भन्नु भन्दा पहिले माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई दिएको भोट घटेको मात्र हो।

त्यसैले कांग्रेसको भोट घटेको भन्नु भन्दा पहिले कांग्रेसले पाएको माओवादीको भोट यसपालि एमालेले पाएको मात्र हो। त्यसैले एमालेको उम्मेदवार गठबन्धन भित्रको भएकोले इलाममा सहजै बढी अन्तरबाट विजयप्राप्त गर्न सके।

बझाङको प्रदेश संसदको निर्वाचनमा भने एमालेले एक्लैले जीत हातपार्नुलाई भने एमालेको क्रेज बढेको अनुभुति गर्न सकिन्छ। निर्वाचनमा सही समयमा सही उम्मेदवार चयन गर्न सक्नु पनि एमालेको जीतको एउटा कारण बनेको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको मिशन ८४ लाई भने इलामको उपनिर्वाचनले हात्ती आयो हात्ती आयो फुस्सा बनाउने संकेत देखाएको छ। घण्टी छापका लागि भोटमाग्न आचारसंहिताको समेत ख्याल नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बटालिएन नै पुग्दा समेत जमानत जफत हुनुलाई भने पाँच कोणबाट विश्लेषण गर्न सकिन्छ।

पहिलो भनेको रवि लामिछाने र उनका पार्टीका पदाधिकारीहरुमध्ये कै केहीलाई सहकारी घोटालामा एक्शनमा नगई अदृश्य भागमा रमाएको कुरा संसद र सडकमै उठेपछि जसजसले सहकारीमा पैसा जम्मा गरेका छन् उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीभन्ने वित्तिकै तर्सिनुपर्ने अवस्थामा पुगेकाले भोट हालेनन् भन्न सकिन्छ।

दोस्रो भनेको रवि लामिछानेको विरुद्धमा दुर्गा प्रसाईंले इलाम मै गएर विष बमन गरेको देखिएकोले दुर्गा प्रसाईंका समर्थकहरुले रविको पार्टीको विपक्षमा मत दिएका हुन कि भन्ने आशंका गर्न सकिन्छ।

तेस्रो पक्ष भनेको रबीले अमेरिकाबाट फर्किएर नेपालमा आएर टेलिभिजनमा चलाएको कार्यक्रममा सबै पक्षको सुक्ष्म कुराहरु खोजेको भएपनि सहकारीको ब्रम्हलुटका बारेमा भने कहिल्यै समाचार बनाएनन्।

कतै उनी पनि सहरकारीमा सदस्य नभई कर्जा लिन पाउने व्यक्तिमा दर्ज भएपछि र आफूले काम गर्ने टेलिभिजनको शेसरसमेत फोकटमा पाएपछि उनको बोल्ती बन्द भएको हुन सक्दछ।

त्यही सहकारीको सञ्जालले उनलाई बजारिया क्षेत्रको भोट ल्याउन यस अघिको निर्वाचनमा सहयोग पुगेपनि अब सहकारीका डनहरु आफै भागाभाग भएकाले भोट माग्ने सञ्जाल समेत तितरवितर भएको र सहकारीको साथबल अब पाउन छोडेपछि इलामको चुनावमा घण्टी छापको जमानत जफत भएको हुन सक्छ।

चौथो भनेको रविका उम्मेदवारलाई भोट दिएर जिताएपनि आखिर जीतेर जाने व्यक्ति रविजस्तै केपी ओलीकै दाहिने हात भएजस्तो गरी सहयोगी भएकाले नयाँ जित्नेको मत पनि केपी वा कै इशारामा जान बाध्य हुने भएकाले बरु प्रत्यक्ष रुपमा सुभाष चन्द्र नेवाङका छोरालाई नै भोट हालेर सिधा केपी ओलीलाई सहयोग किन नगर्ने भन्ने तर्कमा मतदाताहरु पुगेका हुनसक्छन्।

पाँचो भनेको रवि ठूलो माछा पक्रन असफल हुनु वा पक्रेको माछालाई पनि उसलाई फाइदा हुने किसिमले छोड्नु, निर्मला पन्तलगायतका मुद्दालाई हल्का रुपमा लिनु, जसको विरोध गर्दथे उसैको मित्र भएर जुलुशमा कुटन लगाउनेदेखि आखिर रवि गृहमन्त्री हुदाँ पनि सुन तस्करी, गिरिवन्धु टि स्टेटका बारेमा हात हाल्न नसक्नुले आम मतदाताहरु रास्वपाप्रति आक्रोशित हुनुले पनि उनको जुन विवाहमा पनि आफू नै वेहुला बन्नुपर्ने सोचबाट ग्रसित भइसकेकाले घण्टीमा मत नहालेको हुन सक्दछ।

समग्रमा भन्नुपर्दा उपनिर्वाचनले कांग्रेसलाई शसंकित बनाएको छ भने एमालेले मिशन ८४ को मुद्धा राष्ट्रिय स्वतन्त्र पार्टीबाट छिन्न सफल भएको छ। गाउँघरमा अहिले पनि पुराना पार्टीहरुले नै जरा गाडी रहेको भन्ने कुरा प्रमाणित भएको छ। जो जितेर गएपनि हुने केही हुँदैन भन्ने सोचमा पुगेका नागरिकहरुले ‘ओल्ड इज गोल्ड’ मानेर एमालेलाई भोट हालेको देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *