इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना युएईबाट पक्राउ

डिसी नेपाल
४ जेठ २०८१ १६:२६
160
Shares

काठमाडौं। ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन्। एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ।

पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो।

यसैगरी विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *