सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चौरजहारीका आमासमूह

डिसी नेपाल
५ जेठ २०८१ १४:२३
80
Shares

कर्णाली। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन सामूहिक तरकारीखेतीमा जोड दिएको छ। वडामा रहेका महिलाको विभिन्न छ वटा समूह बनाएर वडाले तरकारीखेती उत्पादनमा जोड दिएको हो।

हाल वडामा निर्माण गरिएका छ आमासमूहमध्ये तीन समूहले व्यावसायिकरुपमा तरकारी उत्पादन गरिरहेका वडाध्यक्ष शशिराम विकले जानकारी दिए। उनका अनुसार तीन आमासमूहले वडा नं ८ कै सेरामा छ रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन्।

सेरामा अहिले प्याज, आलु उत्पादन गरेर बिक्री भइसकेको छ भने नर्सरीमा खुर्सानी, गोलभेडा, भिन्डी, फर्सीको बिरुवा उत्पादन भइरहेका छन्। यसपटक भाडाको जग्गामा समूहले ३० क्विन्टल प्याज र ३५ क्विन्टल आलु उत्पादन गरेको वडाध्यक्ष विकले जानकारी दिए।

उत्पादन भएको आलु र प्याज स्थानीय बजारमै बिक्री गरिएको छ। आलु र प्याज बिक्रीबाट करिब रु चार लाख बराबर आम्दानी भएको छ। आमासमूहलाई वडामा रहेका युवाले पनि सहयोग गर्दै आएका छन्। कृषकलाई कुनै समस्या नहोस् भनेर वडाले एक जना कृषि प्राविधिकको पनि व्यवस्था गरेको वडाध्यक्ष विकले जानकारी दिए। उनका अनुसार समूहले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्रीवितरणका लािग वडा कार्यालयले सहजीकरण गर्दै आएको छ।

वडामा रहेका अन्य तीन आमासमूहलाई पनि वडाले तरकारी उत्पादनमा लगाउने योजना बनाएको छ। आमासमूहलाई आत्मनिर्भर बनाउन तथा कृषि पेसामा आकर्षण गर्न मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले छ वटै समूहलाई रु ६८ हजारका दरले जम्मा रु चार लाख आठ हजार सहयोग गरेको थियो।

मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) को सहयोग तथा वडा कार्यालयको समन्वयले गर्दा तरकारी उत्पादनमा हौसला मिलेको आमासमूहमा आबद्ध कृषक कमला केसीले बताइन्। उनका अनुसार उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरणमा कुनै समस्या छैन। तरकारी उत्पादनका लागि बीउबिजन, औषधिलगायत प्राविधिक ज्ञानका लािग वडा कार्यालयले सहयोग गर्दै आएको केसीले जानकारी दिइन्।

सामूहिक तरकारीखेती गर्दा काम गर्न सजिलो हुनुका साथै उत्पादन पनि धेरै गर्न सकिने कृषक कर्णबहादुर पुनले बताए।

महिला तथा यहाँका कृषकलाई आत्मनिर्भर बनाउन तरकारी उत्पादनलाई वडाले पहिलो प्राथमिकता राखेको जनाएको छ। एकल तथा सामूहिक तरकारीखेती गर्ने किसानलाई बीउ, आवश्यकपर्ने औषधिलगायत अन्य सामग्री निःशुल्क उपलब्ध गराइरहेको वडाध्यक्ष विकले जानकारी दिए।
(((


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *