राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन
कास्की। पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन्।
साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो। पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए।
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भइन्। बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गरे। प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः रु ३०/३० हजार र रु २०/२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने। उनीहरुले जनही रु १०/१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाए। विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शंकर भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए।
पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए। पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुंगे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुंगिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment