गौतम बुद्ध र बुद्ध जयन्ती

बंशीकुमार शर्मा
१० जेठ २०८१ ११:२९

बैदिक सनातन धर्मअनुसार भगवान् बिष्णुका दश अवतार मध्ये नवौं अवतार गौतम बुद्ध हुनुहुन्छ भन्ने उल्लेख गरिएको छ। गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

बालक सिद्धार्थको जन्मभएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो भन्ने तर्क छ भने गौतम ऋषिका सन्तान भएकाले गौतम भनिएको श्रुती स्मृतिमा भएको पाइन्छ।

गौतम बुद्धको जन्म ईशा पूर्व ५६३ बैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनी कपिलबस्तुमा  भएको थियो। सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। उहाँकी आमाको नाम मायादेवी थियो।

सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागि २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै वहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नु भयो।

त्यसपछि उहाँले नेपाल र भारतका विभिन्न ठाउँ पुगी दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो। उहाँको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो।

उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो। बैदिक सनातन धर्मअनुसार भगवान विष्णुले पृथ्वीमा विभिन्न अवतार लिनु भएको थियो त्यस मध्ये नवौं अवतार बौद्ध अवतार हो। हिन्दुहरुले भगवान गौतम बुद्धलाई नारायण कै रुपमा पूजा अचर्ना गर्ने गरेका छन्।

बौद्ध धर्मालम्बी र हिन्दु धर्मालम्बी दुवैले बुद्धलाई भगवानकोरुपमा पुज्दै आएका छन्। गौतम बुद्ध जन्मिएको स्थान कपिलवस्तुदेखि ज्ञान प्राप्त गरेको स्थान बोधगया, मृत्यु भएको स्थान भारतकै कुशीनगर सवैलाई वैदिक सनातनी हिन्दु धर्मालम्वी र सनातनि वौद्ध धर्मालम्वीहरुले पबित्र स्थानको रुपमा लिने गर्दछन् त्यस क्षेत्रलाई तीर्थको रुपमा लिएर ध्यान, जप, यज्ञ, पूजा, अर्चना गर्ने गर्दछन्। नेपाल सरकार र छिमेकी मुलुक भारतले बुद्ध सर्किट बनाउने गुरु योजना अगाडि सारेका छन्।

शान्तिका प्रतीकको रुपमा गौतम बुद्धलाई लिने गरिन्छ। सिद्धार्थ गौतम शान्त तथा चिन्तनशील स्वभावका भएको शास्त्रहहरुमा उल्लेख गरिएको छ। उहाँले रोग लाग्नु, बृद्ध हुनु तथा जन्मेपछि मृत्यु हुने कार्यले उहाँलाई चिन्तित बनाएको थियो।

यसको निराकरणको लागि २९ वर्षको उमेरमा राजदरबार, पत्नी (यशोदा) र पुत्र (राहुल), राज परिवार सबैलाई त्यागेर सत्यको खोजीमा दरबारबाट बाहिर निस्कनु भएको थियो। यस कार्यलाई महाभिनिष्क्रमण भनिन्छ। उहाँले गृह त्याग पनि वैशाख पूर्णिमाका दिन भएको थियो।

वैशाख पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञानको खोजिमा निस्कनु, बुद्धत्व प्राप्त हुनु तथा सोही दिन बुद्धको मृत्यु समेत हुनुले यस दिनले बुद्धका सबै पक्षसँग सम्बन्धित भएकोले पनि यसको विशेष महत्व रहेको पाइन्छ। बुद्धले ज्ञान प्राप्त गरेपछि बुद्ध धर्म फैलिँदै गयो। आज संसारका धेरै मुलुकहरुमा यस धर्मका अनुयायीहरु छन्।  गौतमबुद्ध कै सम्झनामा वर्षेनी बुद्ध जयन्ती मनाउने गरिन्छ।

नेपालमा बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरुले विशेष उत्सवका साथ मनाउने गर्दछन् भने हिन्दू धर्मावलम्बीहरुले विष्णुकै अवतारको रुपमा गौतम बुद्धलाई पुज्ने गर्दछन् र उनीहरुले पनि धुमधामका साथ गौतमबुद्धलाई पूजाआजा गर्ने गर्दछन्।

बौद्ध भिक्षु, भिक्षुणीहरु, श्रद्धालु उपासक, उपाशिकाहरु र दर्शकहरुका साथमा भगवान बुद्धको प्रतिमालाई खाटमा राखेर जात्रा गर्दै लुम्बिनी वरिपरि बाजागाजासहित परिक्रमा गराउने चलन चल्दै आएको छ।

बुद्धलाई विष्णुकै नवौं अवतारका रुपमा राखेर अनेक पुराणहरु लेखिएका हुुँदा केवल बौद्ध धर्मका अनुयायी मात्र नभएर परम्परागत सनातन धर्मावलम्बीहरु पनि यसदिन श्रद्धापूर्वक बुद्धको पूजाआजामा संलग्न हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *