लागूऔषध विरुद्ध प्रहरीको विशेष अभियान : एक सय १४ जना कारोबारी पक्राउ

डिसी नेपाल
१३ जेठ २०८१ ९:४९

काठमाडौं। प्रहरीको लागुऔषध व्यूरोले तीन महिने विशेष अभियानमा एक सय १४ जना कारोबारी पक्राउ गरेको छ। व्यूरोले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत खैरो हिरोन, कोकिन तथा औषधिजन्य लागुऔषधको कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो।

अभियानको पहिलो महिनामा उल्लेख्य सफलता मिलेको ब्युरोले जनाएको छ। बैशाखदेखि शुरु भएको यो अभियानमा आगामी असारसम्म रहनेछ। वैशाखमा ब्युरोले एक सय १४ जना कारोबारी पक्राउ गरेको हो। यो अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद भएको ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार वैशाखदेखि यो अभियान शुरु भएको छ। अभियान आगामी असारसम्म चल्ने जनाइएको छ। पहिलो महिनामा केही ठूला कारोबारी पक्राउ परेका छन्। यस अवधिमा एक किलो ७५ ग्राम खैरो हिरोइन बरामद भएको छ। पाँच हजार १९ एम्पुल, नौ हजार पाँच सय ४४ ट्रामाडोल, १८ हजार सात सय ३८ ट्रामाडोल बरामद भएको ब्युरोले जनाएको छ।

कोकिन दुई किलो ६ सय ५४ ग्राम तथा एम्फेटाइमन एक सय चार ग्राम बरामद भएको छ। झापा, मोरङ, सुनसरी र बाँकेमा कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोलीसमेत चलाएको छ। ठूला कारोबारीविरुद्ध आक्रामक हुने रणनीतिअनुसार यसरी केहीलाई गोली प्रहार गरिएको छ।

यद्यपि, प्रहरीले भने भाग्न खोज्ने क्रममा बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ। यस अवधिमा प्रहरीले सचेतना र नियमन पनि बढाएको एसपी कार्कीले बताए। बाँके, झापा,मोरङ, सुनसरी, विरगन्ज लगायतका जिल्लामा लागुऔषध कारोबारी पक्राउ गर्दा गोली प्रहार गर्नुपरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोले कारोबारका मुख्य डिलरहरूविरुद्धको अप्रेसनलाई आक्रामक बनाएको हो। जसअन्तर्गत मोरङमा एक कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको थियो।

ब्युरोबाट खटिएको टोलीले भारतको बिहार, किसनगन्ज घर भएका ४८ वर्षीय भागीरथ हरिजनमाथि मोरङको रतुमाई नगरपालिका-६ कादुपाडामा गोली प्रहार गरेको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई नै लछारेर मोटरसाइकलमा भाग्न खोजेपछि गोली चलाउनुपरेको ब्युरोको भनाइ छ।

प्रहरीले दुई राउन्ड गोली चलाएकोमा हरिजनको दाहिने खुट्टामा लागेको थियो। उनको साथबाट एक सय ५८ ग्राम खैरो हेरोइन बरामद भएको छ। २७ वैशाखमा ब्युरोको टोलीले बाँकेमा एक कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो।

कोहलपुर नगरपालिका-१२ चप्परगौडी घर भएका २६ वर्षीय सुशील परियारलाई जानकी गाउँपालिका-६ गनापुरमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। भाग्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ। परियार र स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीबाट एक सय १४ ग्राम ब्राउनसुगरसमेत बरामद भएको थियो।

उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा ब्युरोको मुख्यालयबाट खटिएको टोली त्यहाँ पुगेको थियो। गत १७ वैशाखमा पनि ब्युरोको टोलीले झापामा गोली प्रहार गरेर सरिफुल आलमलाई पक्राउ गरेको थियो।

झापा गाउँपालिका-३ बाट उनलाई नियन्त्रणमा लिइएको थियो। घरभित्रैबाट पक्राउ गर्न खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि प्रहरीले उनको खुट्टामा गोली हानेको थियो। उनको साथबाट एक सय १६ ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसैगरी पर्साबाट लालमोहम्मदको हत्या योजनाकारलाई पनि लागुऔषधसहित पक्राउ गरेको थियो।

त्यसैगरी विमानस्थलबाट सात करोड रुपैयाँबराबरको लागुऔषध कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका थिए। ब्युरोले अन्तर्राष्ट्रिय लागुऔषध गिरोहमा आबद्ध युगान्डाका दुई र भारतका एक महिलालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये केभिना मुलागाले क्याप्सुल बनाई पेटभित्र राखेर एक केजी दुई सय ६० ग्राम कोकिन नेपाल ल्याएकी थिइन्। उनी इथियोपियाबाट कतार हुँदै नेपाल आएकी थिइन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई निगरानीमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट गत ३० वैशाखमा पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये केभिना मुलागालाई अस्पताल लगेर उपचार पद्धतिबाट उनको पेटमा रहेको एक केजी दुई सय ६० ग्राम कोकिनका क्याप्सुल निकालिएको थियो। जेठ २ गते धोबीचौरको होटेलबाट पक्राउ परेकी लिलियनसँग एक केजी तीन सय ९४ ग्राम कोकिन बरामद गरिएको थियो।

स्निकर चकलेटको खोलभित्र लुकाएर उनले कोकिन तस्करी गरेकी थिइन्। उनले सो कोकिन भारतीय नागरिक दिवा पाललाई दिन लागेकी थिइन्। त्यही क्रममा पाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। दुवैजनाबाट बरामद कोकिनको अवैध बजार मूल्य सात करोड ६ लाख रुपैयाँ रहेको थियो।

विभिन्न फार्मेसीमा छापा मारेर अवैध रूपमा बिक्री भइरहेका नियन्त्रित औषधिसमेत बरामद गरेको छ। यहीबीचमा सरकारले लागुऔषध नियन्त्रण ऐनको अनुसूची संशोधन गरी ट्रामाडोल र टेपन्टाडोलको चिकित्सकको सिफारिसविना बिक्री गरेमा लागुऔषध मुद्दा चलाउने व्यवस्था गरेको छ। लागुऔषध दुर्व्यसनीले यिनै औषधि प्रयोग गर्दै आएको खुलेपछि कानुन संशोधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *