खैरालामा स्वास्थ्यचौकी भवन निर्माण

डिसी नेपाल
१५ जेठ २०८१ १०:३४

कैलाली। कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो।

नवनिर्मित भवन खैराला स्वास्थ्यचौकी भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। रु एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको उक्त आठकोठे भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष बोगटीले भवन अभावले विगतमा सेवा प्रवाहमा समस्या भइरहेकामा अब सहज हुने विश्वास व्यक्त गरे। उनले स्वास्थ्यचौकी भवनसँगै आवश्यक उपकरणसहितका सामग्री सहयोग प्राप्त भएको जानकारी दिए।

फाया नेपालका अध्यक्ष भट्टले स्वास्थचौकी भवन निर्माणका क्रममा सहयोग गर्ने सम्बद्व पक्षलाई धन्यवाद दिँदै स्वास्थचौकी र गाउँपालिका कार्यालयले सदुपयोग गरेर सहज रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे।

आम्दा माइन्ड्सकी नेपाल प्रमुख कोवाइसीले दुई वर्षअघि चुरेको गार्भा दरबार क्षेत्रमा पैदलयात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भोग्नुपरेको अभावबारे जान्ने अवसर प्राप्त भएको बताए। उनले खैराला स्वास्थचौकीको अवस्था दयनीय रहेको थाहा पाएपछि जापान सरकारको सहयोगमा भवन निर्माण गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *