गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण

डिसी नेपाल
१६ जेठ २०८१ ९:५३
16
Shares

विराटनगर। गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिए। महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गरेका थिए।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पङ्खा मात्र वितरण गरिएको उनले बताए।

शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०-८१ मा विनियोजित रु २० लाख रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *