नेपालले दोस्रो वार्मअप खेलमा आज अमेरिकासँग खेल्दै
काठमाडौं। नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दै छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ। नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्मअप खेलमा ६३ रनको हार बेहोरेको थियो। आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ। नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।
टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन्।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment