भलिबल: पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिस क्लब विजयी
काठमाडौं। आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो। फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो।
खेलमा पहिलो सेट हेल्प नेपालले २२–२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५–२० ले जित्यो। त्यसपछिको तेस्रो र चौथो सेट २०–२५ र २०–२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो। पुलिस क्लबले एभरेस्टलाई ३–२ को सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५–२१ ले र दोस्रो सेट पनि २५–२३ ले जितेको थियो।
तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०–२५ र २०–२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो। पाँचौं सेटमा पुलिसले १५–१२ ले विजयी हुदै उपाधि जितेको थियो।
उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment