प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार

दिपा पौड्याल
२९ जेठ २०८१ १०:४४

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन्।

आइतबार तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले मोदीलाई उपहारस्वरुप नेपाली रुद्राक्षको माला दिएका हुन्।

हिन्धु धर्ममा पवित्र मानिने नेपाली रुद्राक्षको माला भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार यस अघि पनि नेपालबाट भारत भ्रमणमा जाँदा समकक्षीलाई उपहार स्वरुप नेपाली मौलिक उत्पादका विभिन्न सामग्री दिइने प्रचलन थियो। नेपालमै उत्पादित पवित्र रुद्राक्षको माला प्रधानमन्त्री दाहालले सोमबार मोदीसँगको भेटवार्ताको क्रममा उपहार दिएका हुन्।

‘ विगतको प्रचलन अनुरुप भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीले हिन्दु धर्ममा पवित्र मानिने रुद्राक्षको माला उपहारस्वरुप दिनु भएको हो।,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने।

भारतीय प्रधानमन्त्री मोदी हिन्दु धर्मका कट्टर समर्थक हुन । उनले भारतमा हिन्दु धर्मलाई बढावा दिन यस अघिका कार्यकालमा पनि विभिन्न धार्मिक गतिविधि र हिन्दु धर्मसँग सम्बन्धित कार्यहरुलाई निकै सक्रियताका साथ अघि बढाएका थिए।।

आइतबार प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथ लिएर कार्यभार सम्हालेका मोदीलाई नेपालका प्रधानमन्त्री रुद्राक्षको माला उपहार दिएर नेपाल पनि हिन्दु धर्मप्रति उदार रहेको सन्देश दिएको छ ।

पहिले हिन्दु राष्ट्रकै रुपमा रहेको नेपाललाई धर्मनिरपेक्ष बनाउन प्रमुख भूमिका खेलेका प्रधानमन्त्री प्रचण्डले नै मोदीलाई रुद्राक्षको माला उपहार दिनुलाई प्रधानमन्त्री प्रचण्डको हिन्दु धर्मप्रति बढ्दो उदारताका रुपमा पनि लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *