डिसी नेपालकर्मी एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

डिसी नेपाल
३० असोज २०८३ १०:२१
4
Shares

धनगढी। डिसी नेपालकर्मी, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान-२०८३’ प्रदान गरेको छ।

चैतन्य पाठशालामा आयोजित ‘चैतन्य कला संस्कृति उत्सव–२०८३’को पाँचौं शृङ्खलाका अवसरमा जोशीलाई सम्मान गरिएको हो।

बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा डोटीको पावन भूमिमा पिता महेश्वर जोशी तथा माता शारदादेवी जोशीका सुपुत्रका रूपमा जन्मिएका जोशीले विगत १७ वर्षदेखि साहित्य, कला, संस्कृति तथा पत्रकारिताका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

समाजका विविध विषयलाई पत्रकारितामार्फत उजागर गर्नुका साथै साहित्य सिर्जनाका माध्यमबाट सामाजिक जीवनका अनुभूति, विचार र आवाजलाई अभिव्यक्त गर्दै आएका जोशीको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको चैतन्य पाठशालाले जनाएको छ ।

सम्मानपत्रमा जोशीले पत्रकारितामार्फत समाजका आवाजलाई अभिव्यक्त गर्दै आएको तथा ‘बैँसाखी’ कथासङ्ग्रहमार्फत साहित्यिक सिर्जनामा योगदान पुर्‍याएको उल्लेख छ।

उनको निरन्तर साधना, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चासोलाई सम्मान गर्दै साहित्यिक क्षेत्रमा थप योगदानका लागि प्रेरित गर्ने उद्देश्यले सम्मान प्रदान गरिएको चैतन्य ग्रुपका सीइओ गणेश जोशीले बताए।

यस्तै सोही अवसरमा शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल पनि सम्मानित भएका छन्।

शिक्षा, संस्कार, साहित्य र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उत्सवका अवसरमा मल्लले शिक्षण तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको पाठशालाले जनाएको छ।

मल्ल विगत ३१ वर्षदेखि शिक्षण पेसामा समर्पित रहँदै समाजमा शैक्षिक चेतना फैलाउन सक्रिय छन् । शिक्षालाई ज्ञान, संस्कार, सिर्जना र व्यक्तित्व विकासको महत्त्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै आएका उनले शिक्षा क्षेत्रमा मात्रै नभई साहित्यिक सिर्जनामार्फत समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन्।

चैतन्य पाठशालाले शिक्षा र संस्कारसँगै कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई पनि महत्त्व दिँदै आएको छ। विद्यालयले आयोजना गर्दै आएको कला संस्कृति उत्सवले विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने अवसर प्रदान गर्दै आएको हो।

यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनात्मक सोचको विकास गर्नुका साथै स्थानीय कला, साहित्य र संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पत्रकारिता समाजको ऐना मात्र नभई समाजमा देखिएका विकृति, विसङ्गति र सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। त्यस्तै, साहित्यले मानिसका अनुभूति, विचार, भावना र सामाजिक यथार्थलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने भएकाले पत्रकारिता र साहित्य दुवै क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नुले समाजमा सकारात्मक सोच, सिर्जनशीलता र जिम्मेवार अभिव्यक्तिको महत्त्वलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास रहेको चैतन्य ग्रुपका सीईओ जोशीले बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामाचन्द्र नेपाल रहेका थिए। कला, संस्कृति र साहित्यलाई शिक्षासँग जोड्दै आयोजना गरिएको उत्सवले स्थानीय बौद्धिक तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

यज्ञराज जोशीलाई प्रदान गरिएको सम्मानले सुदूरपश्चिमको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्वको योगदानलाई संस्थागत रूपमा कदर गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ।

साथै, यस्ता सम्मानले नयाँ पुस्तालाई लेखन, सिर्जना, अध्ययन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

चैतन्य पाठशालाले शिक्षा र संस्कारको संगमका रूपमा विद्यार्थीको सर्वाङ्गीण विकाससँगै समाजका सकारात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ। कला संस्कृति उत्सवमार्फत साहित्यकार तथा पत्रकारलाई सम्मान गर्नु विद्यालयको शैक्षिक गतिविधिभन्दा बाहिरको सामाजिक र सांस्कृतिक योगदानको उदाहरणका रूपमा लिन सकिन्छ।

साहित्य र पत्रकारिताको माध्यमबाट समाजसँग संवाद गर्दै आएका जोशीलाई प्रदान गरिएको ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ ले उनको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

सम्मानले व्यक्तिको योगदानको कदर गर्नुका साथै समाजमा साहित्य, पत्रकारिता र संस्कृतिको महत्त्वलाई उजागर गर्ने सन्देशसमेत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *