धनगढीकाे ‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

डिसी नेपाल
२९ जेठ २०८१ १७:५९

कैलाली। यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।

संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले जानकारी दिए। मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाईनमार्फत एक हजार दुई सय जनाले आवेदन दिएको उखेडाले बताए।

उनका अनुसार प्रदेशका नौवटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन्। विभिन्न रोजगारदाताले दुई हजार छ सय ५४ जना माग गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबीच समन्वय गर्न श्रमादान मेलाले महत्वपूर्ण भूमिका खेलेको बताए।

मेलामा सुरक्षित आप्रवासन, रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन गरिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *