विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर बलिङ गर्दै
काठमाडौं। आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ। नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो। उसले श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो।
त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटा खेलमा अंक बाँडेको थियो। नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक÷एक अंक बाँडेका थिए।
आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment