सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा

डिसी नेपाल
३ असार २०८१ १९:५६
48
Shares

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले जानकारी दिए। दुई दिनको खेल पश्चात कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।

यो सिजनको अन्तिम प्रतियोगिता पश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन। उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन। भुवनले यो सिजनको सात प्रतियोगिता सकिंदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन। उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए।

निरज तामाङ ४ लाख ४८ हजार सहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन। उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए। सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन। सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजार सहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगद सहित सञ्जय लामा पाँचौ स्थानमा रहेका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *