भोलि बिहानदेखि शुरु हुँदै कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

डिसी नेपाल
६ असार २०८१ १०:३३

काठमाडौं। दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुँदै छ।

कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन्। यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुँदै छ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन्। जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन्।

१६ देशलाई चार समुहमा विभाजन गरिएको छ। जसमा समूह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्।

त्यस्तै समूह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समूह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्।

समूह चरणको खेलपछि हरेक समूहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन्। प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो। अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन्। अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो।

त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन्। त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन्। मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *