शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
फाइल फाेटाे
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन्।
स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक कार्यक्रममा अध्यक्ष भट्टराईले गिरिजाबाबुले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए।
‘शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ, शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न दलहरु प्रतिबद्ध भएर लाग्नुपर्छ’, उनले भने।
पूर्वप्रधानमन्त्री भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाबाबुको नेतृत्वमा सुरु गरिएकाले त्यसलाई पूर्णता दिने विषयमा दलहरु एकठाउँमा उभिनुपर्ने बताए।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न अगाडि बढ्नुपर्ने बताए। ‘शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाबाबुप्रति उचित सम्मान हुन्छ’, उनले भने– ‘सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला गर्न हुँदैन।’
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउन सकेमात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताए। संक्रमणकालीन न्याय टुंग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment