डेंगीका बिरामी बढेपछि खाँदबारी अस्पतालमा शय्या अभाव
संखुवासभा। यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
साउनयता भाइरल ज्वरो र डेंगीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनले भने, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ।”
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।
अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए। उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगीका २७ जना बिरामी भेटिएका छन्।
गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन्।
भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको संख्या वुद्धि हुँदै गएको छ। यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए।
विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ। जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment